चेन्नईमाथि लखनउको सहज जित

चेन्नईमाथि लखनउको सहज जित

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ। शुक्रबार राती सम्पन्न खेलमा लखनउले चेन्नईलाई ८ विकेटले पराजित गरेको हो।

चेन्नईले दिएको १७७ रनको लक्ष्य पछ्याएको लखनउले अन्तिम ओभरअघि नै २ विकेट गुमाएर १८० रन बनायो। लखनउका कप्तान राहुलले सर्वाधिक ८२ रन बनाए। ५३ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे।

डि ककले ४३ बलमा ५ चौका र १ छक्कासहित ५४ रन बनाए। राहुल र डि ककबीच पहिलो विकेटका लागि १३४ रनको विशाल साझेदारी भएको थियो। निकोलस पूरन २३ र मार्कस स्टोइनिस ८ रनमा अविजित रहे। चेन्नईका मुस्ताफिजुर रहमान र मथिहा पाथिरानाले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले महेन्द्रसिंह धोनीको आक्रामक ब्याटिङसँगै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। चेन्नईका लागि धोनीले ९ बलमा ३ चौका र २ छक्कासहित २८ रनको आक्रामक इनिङ्स खेले। अन्तिम ओभरमा मात्रै धोनीले २ चौका र १ छक्कासहित १९ रन बनाएका थिए।

अजिंक्य रहाणे ३६, मोइन अली ३० र कप्तान ऋतुराज गायकवाड १६ रनमा आउट हुँदा रविन्द्र जडेजा ५७ रनमा अविजित रहे। लखनउका कृणाल पाण्ड्याले सर्वाधिक २ विकेट लिए।

मोहसिन खान, यश ठाकुर, रवि बिश्वोई र मार्कस स्टोइनिसको नाममा १-१ विकेट रह्यो। जितसँगै लखनउ पाँचौँ स्थानमा उक्लिएको छ। लखनउले ७ खेलबाट ८ अंक जोडेको छ। समान खेल र अंक रहेको चेन्नई तेस्रो स्थानमा रहेको छ।

Logo