नेपालको एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्ने बाटो पनि बन्द, हङकङ ४ विकेटले विजयी

नेपालको एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्ने बाटो पनि बन्द, हङकङ ४ विकेटले विजयी

केन्द्रबिन्दु
98
Shares

नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप पनि गुमाएकाे छ । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा उपाधि होडबाट बाहिरिसकेको नेपाल तेस्रो स्थानको लागि भएको खेलमा पनि हङकङसँग ४ विकेटले पराजित भएको हो ।

इमर्जिङ टिम्स एसिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीको सहभागिता रहनेछ । साविक विजेता नेपाल हिजो युएई विरुद्ध ६ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको थियो ।

आज नेपालले जितका लागि दिएको १४० रनको मध्यम लक्ष्य हङकङले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । हङकङका लागि ओपनर अंशु राठले ६५ रनको अर्धशतकीय पारी खेले । ५० बलको सामना गर्र्दै उनले ४ चौका र २ छक्का प्रहार गरे । साथै बाबर आयातले २६ रन जोडे ।

बलिङतर्फ नेपालका सोमपाल कामीले ३ विकेट तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन जोडेको थियाे । नेपालका लागि आज पनि शिर्ष क्रम चल्न सकेन । खराब लयबाट गुज्रिएका ओपनर कुशल भुर्तेल आज पनि शून्यमै फर्किए । युएईसँग शून्यमै आउट भएका उनी आज पनि २ बल खेल्दै शून्यमै फर्किएका हुन् ।

साथै अर्का ओपनर ५ रनमा पवेलियन फर्किँदा त्यसपछि क्रिज सम्हालन् आएका सोमपाल कामी १२ र कप्तान रोहित २१ रनमा आउट भए । सन्दीप जोरा पनि २२ रनमै आउट भए । कुशल मल्ल १३ रन तथा गुलसन झा ६ रनमा आउट हुँदा आठौं नंबरमा मैदान छिरेका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले राम्रो फिनिसिङ गरे । २९ बल खेलेका उनी ४ चौका र ३ छक्काको मदतमा ४४ रन जोडे ।

बलिङतर्फ हङकङका आयुष शुक्लाले ३ विकेट लिए ।

हङकङ र नेपाल यसअघि यसै प्रतियोगितामा समूह चरणमा भिड्दा भने नेपाल ८ विकेटले विजयी भएकाे थियो । तर, निर्णायक खेलमा नेपालको बलिङ र ब्याटिङ फितलो बन्दा पराजित हुन पुग्यो ।

Logo