कप्तान रोहित नायक बन्दा वेस्ट इन्डिज ‘ए’माथि नेपालको ऐतिहासिक जित

कप्तान रोहित नायक बन्दा वेस्ट इन्डिज ‘ए’माथि नेपालको ऐतिहासिक जित

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ माथि नेपालले ऐतिहासिक जित निकालेको छ। कप्तान रोहितकुमार पौडेलको शतकीय पारीमा घरेलु टोली नेपालले टी–२० शृङखलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’माथि ४ विकेटकाे ऐतिहासिक जित दर्ता गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले जितका लागि दिएको २०५ रनको बलियो लक्ष्य पाएको नेपालले ६ विकेटको क्षतिमा निर्धारित २० ओभरमा २ बल बाँकी छँदै पूरा गरेको हो । यो नेपालको टेष्ट राष्ट्र एवं विश्वविजेता वेस्ट इन्डिजका कुनै पनि टोलीविरुद्ध पहिलो जित हो ।

नेपालको जितमा कप्तान रोहित नायक बने । १९औं ओभरमा कट बिहाइन्ड हुनुअघि उनले १ सय १२ रन जोडे । तेस्रो नंबरमा ब्याटिङ सम्हाल्न क्रिजमा आएका कप्तान पौडेलले वेस्ट इन्डिज ‘ए’विरूद्ध नेपालको तर्फबाट एकतर्फी खम्बा बनेर लडे। नेपालले अन्य ब्याट्सम्यानहरूलाई लगातार गुमाइरहँदा उनी १ सय १२ रन जोड्दै क्याच आउट हुन पुगे। ५४ बल खेलेका कप्तान पौडेलले १० चौका र ६ छक्काको मद्धतमा १ सय १२ रन जोडे।

नेपालले पहिलो विकेटका रुपमा ओपनर अनिल शाह ५ रन जोड्दै क्याच आउट हुन पुग्दा अर्का ओपनर कुशल भुर्तेल पनि १२ बलमा १६ रन जोड्दै क्याच आउट हुन पुगे। तेश्रो विकेटका रुपमा कुशल मल्ल १५ बलमा १६ रन जोड्दै रन आउट हुँदा चौथो विकेट लागि दीपेन्द्रसिंह ऐरीले १८ बलमा २४ रन जोड्दै क्याच आउटकाे शिकार बने ।

यस्तै, कुशल मल्ल १६, विवेक यादव ७ रनको योगदान गरे। अन्त्यमा गुल्सन झाले अन्तिम ओभरमा दुई चौका हिर्काउँदै टोलीलाई जितसम्म डोर्‍याए । उनले ४ बलमा ९ रन तथा प्रतिश जिसीले २ बलमा ५ रन जोडे ।

वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्डे र ओबेड म्याकोयले २–२ विकेट हात पारे ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज‘ए’ले निर्धारित २० ओभर पाँच विकेट गुमाउँदै दुई सय चार रनको योगफल बनाएको थियो । वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेशले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा नौ चौका र दुई छक्का प्रहार गरे ।

यसैगरी ओपनर एलिक एथानाजेले २५ बल खेल्दै ४७ रन जोडे । उनले यस क्रममा पाँच चौका र तीन छक्का हाने । यस्तै केसी कार्टीले ३८ तथा कदीम एलियनले १५ रन बनाए ।

बलिङतर्फ नेपालका अभिनाश बोहोरा, कमलसिंह ऐरी, दीपेन्द्रसिह ऐरी र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए । नेपालले आजको खेलमा कमलसिंह ऐरी, प्रतिश जिसी, विवेक यादवलाई टोलीमा राख्दा ओपनर आशिफ शेख, सोमपाल कामी, करण केसी जस्ता अनुभवी खेलाडी खेलाएको थिएन । नेपालले अब दोस्रो खेल आइतबार खेल्नेछ ।



Logo