कप्तान रोहितको सानदार ब्याटिङका बाबजुद नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

कप्तान रोहितको सानदार ब्याटिङका बाबजुद नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

केन्द्रबिन्दु
140
Shares

कप्तान रोहितकुमार पौडेलको अर्धशतकीय इनिङका बाबजुद नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो टी–२० खेलमा भने हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग १० रनले पराजित भएको हो ।

वेस्ट इन्डिज ‘ए’काे याे जितसँगै पाँच खेलको प्रतियोगिता १–१ को बराबरीमा आएको छ । पहिलो खेलमा नेपालले ४ विकेटको ऐतिहासिक जित दर्ता गरेको थियो ।

१६१ रनको लक्ष्य पछ्याएको नेपाल ९ विकेटको क्षतिमा १५० रनमै समेटिएको हो । नेपालका लागि कप्तान रोहितले ७१ रनको अविजित इनिङ खेले । तर, जिताउन सकेनन् । ४८ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे । उनले क्रिजमा एकतर्फी इनिङ सम्हाल्दा अन्य खेलाडी चल्न सकेनन् । गुलसन झाले २६ रन जोड्दा लोकेश बमले १७ रन तथा आरिफ शेखले १२ रन जोड्नबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।

वेस्ट इन्डिज ‘ए’को जितमा ओबेद म्याककोय र गुडाकेश मोती दुई/दुई विकेट लिए भने रोस्टन चेज र ओसेन थोमसले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डि ‘ए’ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनाएकाे थियाे । उसका लागि आन्द्रे फेलचरले सर्वाधिक ४३ रन बनाए । उनले ३६ बल खेल्ने क्रममा तीन छक्का प्रहार गरे । साथै गुडाकेश मोतीले ३३, रोस्टन चेजले २३ रनको योगदान दिए ।

नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले दुई/दुई विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिए ।

प्रतियोगिताको तेस्रो खेल आगामी बुधबार हुनेछ ।

Logo