मे ३० बाट शुरु हुने वान डे विश्वकप क्रिकेटका लागि इंग्ल्याण्डले टोलीको घोषणा गरेको छ । विश्वकपको आयोजक समेत रहेको इंग्ल्याण्डले आफ्नो टीमका सबै खेलाडीको नाम सार्वजनिक गरेको हो । इंग्ल्याण्डले तीब्र गतिका बलर जोफ्रा आर्चरलाई पनि टीममा सामिल गराएको छ ।
बारबाडोसमा जन्मिएका आर्चरले मार्चमा मात्र इंग्ल्याण्डको राष्ट्रिय टिमबाट खेल्ने स्वीकृति पाएका थिए । उनले अहिलेसम्म ३ वटा मात्र वान डे म्याच खेलेका छन् । बायाँ हाते तीब्र गतिका बलर तथा ४६ वटा वान डे खेलिसकेका डेबिड विली भने यस पटक विश्वकपमा स्थान बनाउन असफल भएका छन् ।
इयोन मोर्गनको कप्तानीमा रहेको इंग्ल्याण्डमा स्पिनर तथा भरपर्दा ब्याट्सम्यान जो डेनली पनि टिममा परेका छैनन् । उनीहरु दुवैलाई इंग्ल्याण्डले प्रारम्भिक टिममा भने समावेश गरेको थियो ।
इंग्ल्याण्डमा राष्ट्रिय टिममा स्थान बनाउन ७ वर्षसम्म सानो टिममा खेलेर मात्र आउनुपर्ने व्यवस्था रहेको छ । तर इंग्ल्याण्डले त्यो समयावधि घटाएर ३ वर्षको बनाएको थियो । कतिपयले आर्चरलाई विश्वकप खेलाउन नै ७ वर्षको समयावधि घटाएर ३ वर्षमा झारेको अनुमान गरेका छन् ।
यस विश्वकपमा इंग्ल्याण्डको तर्फबाट इयोन मोर्गन (कप्तान), मोईन अली, जोफ्रा आर्चर, जानी बेयरस्टो, जोस बटलर, टाम कुरेन, लियाम डासन, लियाम प्लंकेट, आदिल रशिद, जो रूट, जेसन राय, बेन स्टोक्स, जेम्स विंस, क्रिस वोक्स र मार्क वुड रहेका छन् ।
































प्रतिक्रिया