सन्दीप लामिछानेविरुद्धकाे जिल्लाकाे फैसला कसरी उल्टियाे ? के हुन् उच्चले टेकेका आधार ?

सन्दीप लामिछानेविरुद्धकाे जिल्लाकाे फैसला कसरी उल्टियाे ? के हुन् उच्चले टेकेका आधार ?

केन्द्रबिन्दु
406
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाई दिएको छ । बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर्याएका सन्दीपलाई उच्च अदालत पाटनले बुधबार सफाइ दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो । यससँगै सन्दीप लामिछानेका लागि विश्वकप खेल्ने बाटो खुलेको छ । नेपाललाई विश्वकपमा पुर्याउन उनको महत्वपुर्ण भूमिका थियो ।

तर, उच्च अदालतले काठमाडौं जिल्ला अदालतको फैसला कसरी उल्ट्यायो भन्ने सबैको आमचासोको विषय बनेको छ । यसमा उच्च अदालतले सन्दीपलाई निर्दोष ठहर गर्न पीडितको उमेर मुख्य देखाएको छ । यसअघि सन्दीप र गौशाला २६ बीच शारीरिक सम्बन्ध मञ्जुरीमा भएको थियो कि थिएन की भन्दा पनि पीडितको उमेर १८ वर्ष नाघेको थियो कि थिएन भन्ने मूल विवाद थियो। तर, जिल्ला अदालतले जन्म दर्ता प्रमाणपत्रलाई आधार मानी करणीका बखत पीडित १८ वर्ष पुगिसकेको मानेको थियो। बरु सम्पन्न अनि प्रभावशाली व्यक्तित्व भएका सन्दीपले पीडितको विपन्नताको गलत फाइदा उठाएको तर्क गर्दै बलात्कार ठहर गरेको थियो। सोही तथ्यलाई उच्च अदालतले समात्यो र निर्दोष ठहर गर्यो ।

सन्दीपलाई बलात्कार मुद्दामा सफाइ दिन उच्च अदालतले टेकेको अर्को आधार हो, जबरजस्ती करणी गरेको सबुत प्रमाणले पुष्टि नगर्नू, । बहस सकिएलगत्तै सीसीटीभी फुटेज देखाउन आदेश भएको थियो । फैसलाअघि सन्दीप र गौशाला २६ होटलभित्र पसेको र होटलबाट बाहिरिएको फुटेज न्यायाधीसद्वयले हेर्न चाहेका थिए र हेरे पनि । तर, दोषी ठहर हुनका लागि प्राप्त प्रमाण देखेनन् ।

‘जिल्लाको फैसला मिलेको नदेखिएको र सरकारले दायर गरेको अभियोगपत्र अनुसार दोषी ठहर हुनका लागि प्राप्त प्रमाण देखिएन, ’ उच्चको फैसलामा भनिएको छ ,‘ परिस्थितिजन्य प्रमाणहरूबाट हेर्दा पनि निजले अभियोग गरेको ठहर हुने देखिएन ।’

यद्यपी उच्चले सन्दीपलाई सफाइ दिन लिएका अर्का आधारहरूबारे भने फैसलाको पूर्णपाठमा व्याख्या गर्ने छ । उच्चले हाललाई संक्षिप्त रायमात्र सार्वजनिक गरेकाले यी आधारहरुमात्र प्राप्त देखिँदैनन् । इजलासमा दुवै पक्षबाट भएको बहस, प्राप्त प्रमाण र अन्य विवरण हेरेर इजलास सफाइ दिने निष्कर्ष निकालेको देखिन्छ । गौशाला २६ को बयानभन्दा सन्दीपका कानुन व्यवसायीले गरेको जिकिरलाई उच्च अदालतले आधार बनाएको देखिन्छ । उनको सफाइविरुद्ध सरकार सर्वोच्च जाने बाटो भने खुल्लै छ । उच्चले गरेको फैसलाको पूर्णपाठलाई हेरेर सर्वोच्च अदालत जानेबारे निर्णय लिने महान्यायाधीवक्ता कार्यालयको टिप्पणी छ ।

स्याङ्जामा जन्मिएका २३ वर्षीय सन्दीप लामिछानेले क्रिकेट करियर १९ वर्षमुनिको (यू १९)को टोलीबाट गरेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान रहेकै बेला लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दर्ता भएको थियो । भदौ ५ गते काठमाडौं तीलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै परिवर्तित नाम गौशाला–२६ ले जाहेरी दिएकी थिइन् । करिब २ वर्षपछि उनले अभियोगबाट सफाइ पाएका छन् ।

यसअघि पुस १३ गते काठमाडौं जिल्ला अदालतले उनलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । पुस २५ गते उनीमाथि सजाय तोकिएको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई आठ वर्ष जेल सजाय सुनाएको थियो । साथै ५ लाख जरिवाना र क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । त्यसपछि जिल्ला अदालतको फैसलामा त्रुटि भएको भन्दै लामिछानेले पुनरावलोकन गएका थिए । त्यस्तै सरकारी वकिलको कार्यालय समेत पीडित नाबालिग रहेको र सजाय थप गर्नुपर्ने भन्दै उच्च अदालत पुगेको थियो । अन्ततः आज सफाई पाएका हुन् ।

लामिछानेले बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदै गरेको आईसीसी टी–२० विश्वकप क्रिकेटको टोलीमा उनलाई समावेश गर्नेबारे नेपाल क्रिकेट संघ क्यान छलफलमा जुटेको छ । विश्वकपका लागि रोहितकुमार पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोली अहिले अमेरिका पुगिसकेको छ । सहभागी टोलीहरूले विश्वकपका लागि यसअघि नै आफ्नो टोलीको घोषणा गरिसके पनि उचित कारण देखाएर उक्त टोलीमा हेरफेर गर्न सकिने अवस्था कायमै छ । अझ सन्दीपले आजै उच्च अदालत पाटनबाट सफाइ पाएसँगै विश्वकप खेल्न हतारो देखिएका छन् । अदालत र न्यायाधीशहरुप्रति आभार प्रकट गर्दै उनले भनेका छन्, ‘अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा पनि अटल रहनेछ । समर्थकहरुको यो मायाले खेलमार्फत राष्ट्रका लागि योगदान दिने मेरो अठोट र अभिलाषा अझै उच्च बनेको छ ।’

Logo