नेपाल क्रिकेट संघ (क्यान)ले सम्भव भएसम्मको सबै पहल गर्दा पनि सन्दीप लामिछानेलाई विश्वकप खेल्नका लागि अमेरिकी दूतावासले यात्रा अनुमति (भिसा) नदिएको बताएको छ ।
संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको आइसिसी पुरुष टि२० विश्वकप २०२४ मा सहभागिताका लागि अमेरिका जान अमेरिकी दूतावासले सन्दीपलाई बिहीबार अन्तर्वार्ताका लागि बोलाएपनि भिसा दिन अस्वीकार गरेको हो । यसअघि पनि अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गरेको थियो ।
क्यानले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको आइसिसी पुरुष टि२० विश्वकप २०२४ मा सहभागिताका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेको भ्रमणको निम्ति कूटनीतिक नोट सहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ साथै आईसीसी बाट आवश्यक पहल भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले राष्ट्रिय खेलाडी सन्दिप लामिछानेलाई विश्वकप खेल्नका लागि यात्रा अनुमति (भिसा) दिन असमर्थता जनाएको व्यहोरा जानकारी गराउन चाहान्छौं।’
सन्दीपले पहिलो पटक भिसा रिजेक्ट भएपछि पुनः अघि बढाउँदा आज अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, उनको भिसा फेरि रिजेक्ट भएको हो ।
विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले पनि नोट खेलेको थियो । भिसा मिलेको खण्डमा सन्दीप आजै राति अमेरिका उड्ने तयारीमा थिए । तर, भिसा रिजेक्ट भएपछि उनको अमेरिकारमा पहिलोपटक विश्वकप खेल्ने सपना लगभग सकिएको छ । नेपालले जुन ४ देखि आइसीसी टी–२० विश्वकप खेल्दै छ । समूह डीमा रहेको नेपालले नेदरल्याण्ड्ससँग खेल्दै विश्वकपमा दोस्रो पटक यात्रा सुरु गर्ने छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका र बगंलादेश पनि छन् । नेपालको विश्वकप खेल्ने प्रारम्भिक टोली भने यसअघि नै अमेरिका पुगिसकेको छ ।





























प्रतिक्रिया