नेपालले विश्वकपमा हराउला त नेदरल्याण्डलाई? यस्तो छ हेड-टू-हेड[भिडियोसहित]

नेपालले विश्वकपमा हराउला त नेदरल्याण्डलाई? यस्तो छ हेड-टू-हेड[भिडियोसहित]

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । नेपालले आज राति नेदरल्याण्डविरुद्ध खेल्दै १० वर्षपछि टी–२० विश्वकपमा पुनरागमन गर्दै छ। सन् २०१४ पछि दोस्रो पटक टी–२० विश्वकपमा खेल्न लागेको नेपालले दुई–दुई वर्षमा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन १० वर्ष नै पर्खनुपर्यो।

नेपाल र नेदरल्यान्ड्सविरुद्धको खेल अमेरिकाको डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा राति सवा ९ बजे सुरु हुनेछ। एक दशकपछि नेपाल टी–२० विश्वकप खेल्न लागेको हो।

यसअघि पहिलो पटक पारस खड्काको कप्तानीमा नेपालले बंगलादेशमा २०१४ मा टी–२० विश्वकप खेलेको थियो। दशकपछि फेरि नेपाल विश्व क्रिकेटको ठूलो प्रतिस्पर्धामा कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा उत्रँदैछ। नेपालका लागि नेदरल्याण्डस् कुनै नयाँ टोली होइन।

नेपालले नेदरल्याण्डसविरुद्ध अहिलेसम्म टी–२० मा मात्रै १२ खेल खेलिसकेको छ। जसमा ६ खेल नेदरल्याण्डस् र ५ खेल नेपालले जितेको छ। एक महिनाअघि नेपालमै भएको त्रिकोणात्मक सिरिजमा नेपाललाई नै पराजित गर्दै नेदरल्यान्ड्सले सिरिज जितेको थियो।

तर, विश्वकपमा कमसेकम सुपर ८ मा छनौट हुने लक्ष्यका साथ अमेरिका उडेको नेपाली टोलीले आफ्नो उपस्थितिको गहिरो छाप छोड्ने लक्ष्यमा छ। आफूलाई प्रमाणित गर्न नेपालसँग स्तरीय प्रदर्शन गर्नुको विकल्प भने छैन। त्यसका लागि आफूभन्दा बलिया टोलीलाई पराजित गरेर अप्रत्याशित नतिजा ल्याउनुपर्छ।

समूहमा आफूभन्दा निकै बलिया टोली रहेका कारण नेपालको हरेक खेल चुनौतीपूर्ण छ। पाँचौं पटक विश्वकप खेलिरहेको नेदरल्यान्ड्स २०२२ को पछिल्लो संस्करणमा सुपर १२ सम्म पुगेको थियो। सन् २००९ को संस्करणमा नेदरल्यान्ड्सले इंग्ल्यान्डमाथि ४ विकेटले विजय भएको थियो। यस्तै, सन् २०२२ मा पनि दक्षिण अफ्रिकामाथि नेदरल्यान्ड्सले ३८ रनको जित हासिल गर्दै सनसनी मच्चाएको थियो।

गत वर्ष नोभेम्बरमा भारतमा सम्पन्न एकदिवसीय विश्वकपमापनि नेदरल्यान्ड्सले दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको थियो। यसका साथै विश्वकप अघिको अभ्यास खेलमा नेदरल्यान्ड्सले श्रीलंकालाई २० रनले हराएको थियो। यसले पनि के जनाउँछ भने डच टोली धेरै अर्थमा नेपालभन्दा धेरै बलियो र आत्मविश्वासी टोली हो।

तर, १० वर्षपछि विश्वकप खेल्न लागेको नेपाली टोलीकोपनि अभ्यास कम छैन। नेपालले विश्वकप अघि पर्याप्त अभ्यास खेलहरु खेलि २५ दिनअघि नै अमेरिका उडेको थियो। यसर्थ यो बीचमा नेपालको टोली अमेरिकाको मौसम र मैदानमा निकै अभ्यस्त भइसकेको हामी अनुमान लगाउन सक्छौं।

नेपालको सधैँको समस्या जोडी भएकाले यसपटक विश्वकपमा पनि ओपनिङ जोडी नटिक्ला कि भन्ने शंका उब्जिएको छ। पछिल्ला खेलहरूमा कुशल भुर्तेलको प्रदर्शन निराशाजनक छ। एसीसी प्रिमियर कपमा उनी लगातार तीन खेलमा शून्यमै आउट भएका थिए। उनको ओपनिङ जोडी आसिफ शेख पनि पछिल्ला ६ खेलमा एकमात्र अर्धशतक बनाउन सकेका छन् भने ४ खेलमा दोहोरो स्कोर नै बनाउन सकेका छैनन्। २०२१ को अप्रिलमा नेदरल्यान्ड्सविरुद्ध त्रिकोणात्मक टी –२० शृंखलामा उनीहरूले नै पहिलो विकेटमा १ सय १६ रन जोड्दै अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार ‘डेब्यु’ गरेका थिए। तर त्यसपछिका दिनमा उनीहरू जम्न सकेका छैनन्।

अर्कोतर्फ नेपालको बलिङमा पनि समस्या देखिएका छन्। लेग स्पिनर सन्दीप लामिछाने भिसा नपाएपछि नेपाली टोलीमै छैनन्। अर्का अनुभवी बलर सोमपाल कामी र करण केसीले आफ्नो उत्कृष्टता प्रदर्शन गर्न नसकेको पनि लामो समय भइसकेको छ।

यस्तोमा नेपालले ब्याटिङ र बलिङकमा निकै संघर्ष गर्नुपर्ने देखिन्छ। सोमपाल कामी नेपाली टोलीकै सबैभन्दा पुराना र अनुभवी बलर हुन् हुन्। उनले सन् २०१४ को विश्वकप पनि खेलेका थिए। उनी एकमात्र २ वटा विश्वकप खेल्ने नेपाली खेलाडी हुन्। त्यतिबेला सोमपालको उत्कृष्ट बलिङको चर्चा अझै पनि हुने गर्छ।

उनले अहिले त्यो गतिमा बल फ्याँक्न सकिरहेका छैनन्। तर, खेल हो, आत्मविश्वासी नेपाली टोलीले जादू चलाउन पनि सक्छ। कप्तान रोहितकुमार पौडेलले यसअघि नै विश्वकपमा टेष्ट राष्ट्रलाई हराउन आतूर रहेको प्रतिक्रिया दिएका थिए।

पछिल्ला खेलमा उनको व्यक्तिगत प्रदर्शन पनि उत्तिकै लोभलाग्दो छ।

Logo