घाइते श्रीलंकालाई पाखा लगाउँदै नेपालले तय गर्ला सुपर ८ काे यात्रा ?

घाइते श्रीलंकालाई पाखा लगाउँदै नेपालले तय गर्ला सुपर ८ काे यात्रा ?


बुधबार बिहान सवा पाँच बजे नेपालमा रहेका नेपालीहरुको आँखा उघ्रिनुअघि अमेरिका पुगेको नेपाली क्रिकेट टोलीले पहिलो पटक श्रीलंकासँग महाभिडन्त गर्दैछ । सुपर ८ मा प्रवेश गर्ने लक्ष्यसहित अमेरिका उडेको नेपाली टोलीले टी–२० विश्वकपअन्तर्गत पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध पहिलो खेलमा ६ विकेटको हार ब्यहोरेको थियो । पहिलो खेलको हार बिर्सँदै सुपर ८ मा पुग्न बाँकी रहेका ३ खेल जित्नै पर्ने दबाबमा नेपाल छ ।

तर, नेपाललाई भन्दा बढी दबाब श्रीलंकामाथि थोपरिएको छ । नेपालसँगको खेल गर या मरको अवस्थामा छ । श्रीलंकाले आफ्नो पहिलो खेलमा साउथ अफ्रिकासँग ६ विकेट र दोस्रो खेलमा बंगलादेशसँग २ विकेटले हार ब्यहोरिसकेको छ । आफ्ना दुबै खेलमा हार ब्यहोरेको श्रीलंका बुधबार बिहानै हुने खेलमा नेपाललाई कुनै पनि हालतमा हराउँदै ‘सुपर ८’को सम्भावनालाई जिवितै राख्न हरसम्भव प्रयास गर्नेछ ।

बुधबार खेल हुने अमेरिकाको फ्लोरिडास्थित ब्रोवार्ड पार्डको मैदानमा श्रीलंकाले नेदरल्यान्ड्स र आयरल्यान्डविरुद्ध विश्वकपअघि दुई अभ्यास खेल खेलिसकेकाले नेपालभन्दा श्रीलंका यस मैदानसँग परिचित छ ।

विश्वकपमा नेपाल र श्रीलंका पहिलो पटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन् । एक दशकपछि रोहित पौडेलको कप्तानीमा दोस्रो पटक टी–२० विश्वकपमा सहभागिता जनाएको नेपालले सन् २०१४ मा पारस खड्काको कप्तानीमा नेपालले पहिलो टी–२० विश्वकप खेलेको थियो । बंगलादेशमा भएको उक्त संस्करण श्रीलंकाले नै जितेको थियो । श्रीलंकाले टी–२० विश्वकपमा पहिलो पटक सामना गरेको प्रतिद्वन्द्वीविरुद्ध खेलेका १० खेलमध्ये केवल दुई खेलमा पराजय भोगेको छ । यस्तै नेपालले विश्वकपमा खेलेको कुल ४ खेलमध्ये २ खेलमा जित र २ खेलमा हार ब्यहोरेको छ । टेस्ट राष्ट्रविरुद्ध नेपालको यो श्रीलंकासमेत गरेर पाँचौं खेल हो।

तर, नेपालको सधैंको समस्या ओपनिङ जोडी भएकाले श्रीलंकाविरुद्ध पनि ओपनिङ जोडी नटिक्ला कि भन्ने शंका उब्जिएको छ । अघिल्लो खेलमा नेदरल्याण्ड्सविरुद्ध ओपनर कुशल भुर्तेल र आसिफ शेख दुबैले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुशलले ७ रन मात्र बनाउन सके । पछिल्लो सयम उनलाई आफ्नो लय समात्नै मुस्किल परेको देखिन्छ । उनको ओपनिङ जोडी आसिफ शेखले पनि नेदरल्याण्ड्सविरुद्ध ४ मात्र बनाए । पछिल्ला ६ खेलमा उनले एकमात्र अर्धशतक बनाउन सकेका छन् भने ४ खेलमा दोहोरो स्कोर नै बनाउन सकेका छैनन् ।

नेदरल्याण्ड्सविरुद्ध कप्तान रोहित पौडेलले ३५ रन र करण केसीले १७ रन बनाउनु बाहेक नेपालका लागि कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । अर्कोतर्फ नेपालको बलिङ र फिल्डिमा पनि समस्या देखिएका छन् । विकेट टेकर स्पिनर सन्दीप लामिछानेले वेष्ट इन्डिजमा हुने साउथ अफ्रिका र बंगलादेशविरुद्ध मात्र सहभागिता जनाउन पाउने भएकाले नेपाली नेपाली टोलीमा हाल विकेट टेकर बलरको अभाव खड्किएको छ ।

पछिल्लो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध ४ विकेट मात्र लिन सफल भएको थियो । अनुभवी बलर सोमपाल कामी र करण केसीले आफ्नो उत्कृष्टता प्रदर्शन गर्न सकेका छैनन् । यस्तोमा नेपालले ब्याटिङ र बलिङकमा निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।

अर्कोतर्फ नेपालका लागि श्रीलंकन कप्तान वानिन्दु हसरंगा टाउको दुखाई बन्न सक्छन् । आफ्नो अलराउन्ड क्षमताका लागि परिचित, वानिन्दुले पछिल्लो पाँच खेलमा ९७ रनका साथ ६ विकेट लिएका छन्। यस्तै कुशल मेन्डिस पनि नेपाली बलरका लागि अर्को ठुलो टाउको दुखाई बन्न सक्छन् । दायाँ हाते विकेटकिपर ब्याट्सम्यान कुसलले पछिल्लो पाँच खेलमा ९३ रन बनाएका छन् । सुरुबाटै तेज रन बनाउने क्षमता भएका मेन्डिसले आवश्यक परेको बेला ब्याटिङ र स्टम्प पछाडी रहेर टोलीलाई विकेट प्रदान गर्न सक्छन् ।

नेपाल रहेको समुह ‘डी’ बाट दक्षिण अफ्रिका लगातार तीन जितका साथ सुपर ८ मा पुग्ने लगभग निश्चित भइसकेको छ । अर्कोतर्फ बंगलादेश पनि २ खेलमध्ये एकमा जित र एकमा हारसहित २ अंकका सुपर ८ को दौडमा छ । यस्तोमा सुपर ८ को सपना देखिरहेको नेपाल र श्रीलंकाले बुधबारको खेल कुनै पनि हातलमा गुमाउन चाहँदैनन् । दुवैलाई जित सिवाय अन्य नतिजा मान्य छैन । सोही कारण बुधबार बिहानै नेपाल र श्रीलंकाबीच महा–भिडन्त हुने पक्का छ । तर मौसम पूर्वानुमानले नेपाल र श्रीलंकाबीच हुने खेलका क्रममा पानी पर्ने प्रवल सम्भावना रहेको बताइसकेको छ ।

Logo