नेपाल र श्रीलङ्काबीचको खेलमा वर्षा रोकियो, मैदानमा जमेको पानी हटाउने प्रयास

नेपाल र श्रीलङ्काबीचको खेलमा वर्षा रोकियो, मैदानमा जमेको पानी हटाउने प्रयास

केन्द्रबिन्दु
196
Shares

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेलमा पानी परेपछि टसमा ढिलाइ भएको छ। अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा आज बिहान हुने भनिएको खेलमा पानी परेपछि टसमा ढिलाइ भएको आइसीसीले जनाएको छ।

अहिले वर्षा भने रोकिएको र मैदानमा पानी जमेका कारण त्यसलाई हटाउने प्रयास भइरहेको आईसीसीले जनाएको छ।

थप पानी नपरे मैदान तयार गर्न कम्तीमा एक घण्टा लाग्न सक्ने आईसीसीले जनाएको छ। नेपाल र श्रीलंकाबिच खेल हुने दिन बुधबार फ्लोरिडाको मौसम खासै गतिलो रहने छैन।

आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। समूह चरणका चार खेलमध्ये पहिलाे खेल हारेको नेपालले दोस्रो खेलमा जित निकाल्ने दाउमा छ भने श्रीलङ्काले यसअघिका दुवै खेलमा हार बेहोरेकाले अन्तिम आठमा स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ।

सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमने सामने हुन लागेका छन्। यसअघि उमेर समूहमा यी दुई टोलीको पटक-पटक भेट भए पनि सिनियर टोलीमा भने पहिलो अवसर हो।

नेपालले समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो भने श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग छ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो।

आजको खेलपछि समूह चरणका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ। वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ।

Logo