हामीले क्रिकेट संघमा पारदर्शिता र अनुशासन चाहेका हौँ: विप्लव घोष

हामीले क्रिकेट संघमा पारदर्शिता र अनुशासन चाहेका हौँ: विप्लव घोष

केन्द्रबिन्दु
42
Shares

सुनसरीका विप्लव घोष करातेका पूर्वखेलाडी हुन्। नेपाली खेलकुदको विकास र खेलाडीको प्रोत्साहनमा सक्रिय उनी पछिल्लो समय एक दिवसीय क्रिकेट प्रतियोगिताहरुको आयोजना गरेर बढी चर्चामा छन्। नेपाल खेलकुद महासंघको सचिवसमेत रहेका उनले नेपाल क्रिकेट संघ(क्यान) भित्र देखिएको बेथितिविरुद्ध आवाज उठाउँदै आएका छन्। साथै खेलकुद क्षेत्रलाई बजेट विनियोजनमा सरकारले उपेक्षा गरेकोप्रति आपत्ति पनि प्रकट गरिरहेका छन्। सचिव घोषसँग नेपाली खेलकुदको विकास, क्यानभित्र देखिएको विवाद र भावी रणनीतिका विषयमा गरिएको कुराकानी:

नेपालको समग्र खेलकुदको अवस्थालाई कसरी नियालिरहनुभएको छ ?
एक खेलप्रेमीका रुपमा समग्रमा नेपालको खेलकुद अवस्थालाई हेर्दा कोरोनापछिका वर्षहरुमा धमाधम बजेट कटौती भइरहेको छ। खेलकुद क्षेत्रमा सरकारले बजेट विनियोजन गर्दा थोरैथोरै गरेर कटौती गर्दै आइरहेको छ। यसपाली त एकमुष्ट बजेट नै कम आएको छ। त्यसबाट क्रिकेट क्षेत्रलाई कति आउँछ भनेर हामी पर्खिरहेका छौं।

समग्रमा जिल्लादेखि केन्द्रीय तहसम्मको खेलकुदको संरचना, प्रशिक्षण तथा खेल तालिका र तयारी लगायतलाई हेर्ने हो भने सन्तोषजक छैन। संघ र संस्थाहरुले प्रायोजक खोज्न सकिरहेका छैनन्। प्रायोजकहरु पाइहाले पनि ती केन्द्र केन्द्रीत हुन्छन्। विकेन्द्रीकरण नहुँदा तलका खेलाडीहरु बाध्य भएर विदेश पलायन हुनुपर्ने अवस्था छ। खेल खेलेरै खेलाडीहरुले जीविकोपार्जन गर्ने अवस्था देखिँदैन। हालको बजेटले खेलकुद क्षेत्रको विकास गर्न सक्दैन। खेलाडीहरुलाई जीविकोपार्जन गर्न नै कठिन छ। कर्पोरेट हाउसहरुले केन्द्रदेखि तल्लो तहसम्मका खेल र खेलकुद क्षेत्रलाई प्रायोजन नगर्ने हो भने खेलको माध्यमबाट खेलाडीको जीविकोपार्जन, खेल विकास र व्यवस्थापन गर्न गाह्रो छ।

सबै खेलका लागि खेलाडी छनोट पारदर्शी नहुँदा ग्रामीण तहमा रहेका प्रतिभाहरु ओझेलमा परेको गुनासो छ। पहुँच र पावरका भरमा खेलाडी टीममा समावेश गर्ने परिपाटी छ भनिन्छ। वास्तवमा अवस्था यस्तै हो ?
होला कहींकतै खेलाडी छनोट प्रक्रिया पारदर्शी भएन होला। अनियमितता भयो होला। तर, सबै ठाउँमा यस्तो छैन। छनोट प्रक्रिया पारदर्शी नै छ। कतै खेलाडी छनोट गर्दा भावनात्मक हुने, कहीं पक्षविपक्ष भनेर मापन गरी छनोट गरिएको पनि छ। यो सबै हुनुको पछाडि खेलाडी छनोट गर्ने मापदण्ड स्पष्ट नहुनु हो। यसले खेलाडीको स्तर र खेललाई प्रभाव पारिरहेको छ। जिल्लामा खेलाडी छनोट गर्ने मान्छे कस्ता छन् र कस्ता खेलाडी छानिएर आए भन्ने कुरा खेलाडीको प्रस्तुतिबाटै स्पष्ट हुन्छ। यद्यपि, तल्लो तहमा खेलाडी छनोट गर्न प्राविधिक कठिनाइहरु पनि प्रशस्त छन्। दलीय प्रभाव पनि छ। आरोप प्रत्यारोप पनि छ।

क्रिकेटमा वान डे (एक दिवसीय) प्रतियोगिताले खेलाडीलाई प्रोत्साहित गर्न र छनोटका लागि कस्तो भूमिका खेलेको छ ?
मेरै अगुवाइमा सुरुमा मनमोहन कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता भएको थियो। त्यसबेला नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेकाले ठूलो कठिनाइ व्यहोर्नुपर्यो। हामीले त्यतिबेला सात प्रदेश, तीन विभागीय टोली, एउटा बिहार राज्यको टोली पनि सामेल गराएर प्रतियोगिता सम्पन्न गराएका थियौं। त्यतिबेला आर्थिक चुनौती निकै ठूलो भोग्नुपरेको थियो। त्यसपछि नै हो क्रिकेटलाई व्यवसायिकभन्दा पनि विकास र विस्तार गर्नुपर्छ भनेर अगाडि बढेको। त्यतिबेला वान डे प्रतियोगिता नहुने भएकाले वान डे मान्यता दिनुपर्छ भनेर प्रतियोगितालाई सफल बनाएका थियौं। प्रतियोगितामार्फत खेलाडीका लागि राष्ट्रिय टिममा आउने माध्यम बनेको थियो। दोस्रो चोटि पनि मलेसियाको राष्ट्रिय टोलीलाई हामीले ल्याएर खेलाएका थियौं। त्यो कार्यक्रम पनि खेलाडीहरुलाई राष्ट्रिय टिममा प्रवेश गर्ने ढोका जस्तै बनेको थियो। तर, अहिले क्यानले पनि एक दिवसीय प्रतियोगिता आयोजना गर्न सकिरहेको छैन। यस्तो प्रतियोगिता महत्वपूर्ण हुन्छ भन्ने कुरा सबैले बुझ्नु जरुरी छ।

यतिबेला टी–२० विश्वकप क्रिकेटको माहोल छ। नेपालले एक दशकको पर्खाइपछि दोस्रो पटक विश्वकप खेल्दैछ। यसैबीचमा सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिँदा क्यान आलोचित छ। तपाईंहरुले त पत्रकार सम्मेलन नै गरेर क्यान नेतृत्वमाथि गम्भीर आरोपहरु लगाउनु भएको छ नि ?
पत्रकार सम्मेलन मात्र होइन खेलकुदमन्त्रीलाई ज्ञापनपत्र नै बुझाइसकेका छौं। सन्दीप लामिछानेका विषयलाई लिएर क्यानले गम्भीर लापरवाही गर्यो। म यहाँ सोध्न चाहन्छु जिम्मेवार तहमा बसेका अध्यक्षले सन्दीपको विषयलाई लिएर के पहल गरे ? उनलाई टोलीमा राख्न कसरत गर्नुभन्दा आफ्ना आसेपासेलाई लिएर अमेरिका उडेका हैनन् ? क्यानका अन्य केही पदाधिकारीले पहल गरे होलान तर अध्यक्षको भूमिका के ? उहाँमाथि नैतिकताको गम्भीर प्रश्न छ। यस्तो गैरजिम्मेवार बन्न मिल्दैन।

भिसा नदिनु अमेरिकाको आफ्नो कूटनीतिक सवाल होला तर तपाईं क्यानका पदाधिकारीहरुमाथि खनिनुभएको छ। अध्यक्ष र सचिवको मिलेमतोमा सन्दीपलाई १५ सदस्य टोलीमा सामेल नगरेको भनेर किटान नै गरिरहनुभएको छ। त्यसको आधार के हो ?
स्पष्ट छ, क्यानका अन्य पदाधिकारीलाई अध्यक्षले नै गुमराहमा राखिरहेका छन्। अध्यक्षपछि मर्यादाक्रमले जिम्मेवार पदमा रहेका उपाध्यक्ष गुमराहमा छन् भन्ने लाग्छ। अध्यक्ष नेपालमा थिएनन् तर उपाध्यक्ष त थिए नि। उनको भूमिका के हो त ? सन्दीपको विषयमा उपाध्यक्षले खोइ बोलेको ? उहाँको पहलकदमी पनि केही देखिएन, उहाँको भूमिका पनि यहाँ शंकास्पद देखिन्छ। क्यानका सचिवलाई नै दबाबमा पारेर निर्णयहरु भएको हो कि भन्ने मलाई लागेको हो।

तपाईं आबद्ध खेलकुद महासंघले आइसीसीले क्यानलाई दिएको पाँच लाख डलर सहयोग र सरकारले राष्ट्रिय टोलीलाई विनियोजन गरेको पाँच करोड पारदर्शी नभएको भन्दै छानबिन गर्नुपर्ने माग गर्नुभयो। त्यस विषयमा क्यानले समय आएपछि सार्वजनिक गर्ला नि, किन हतारिनुभएको ?
हाल प्राप्त भएको पैसाको प्रयोगका सवाल शंकास्पद छ। पारदर्शिताको लागि छानबिन गर्नुपर्छ। आइसीसीले नेपाललाई मात्र नभएर ग्रेड हेरेर सहभागी अन्य टीमलाई पनि वल्र्डकपको तयारीका लागि सहयोग उपलब्ध गराउने गर्छ। क्यानका व्यक्तिहरुमा लोभ पहिला पनि थियो, अहिले पनि छ। त्यो पैसा दुरुपयोग नहोस् भन्ने हाम्रो माग हो। २५ सदस्यीय नेपाली खेलाडी र व्यवस्थापकीय टोलीमध्ये एक जना चिकित्सक लैजान पाउने प्रावधान छ तर संघको अध्यक्षले डाक्टरको कोटामा अमेरिका जानुपर्ने थियो र ? उहाँलाई त्यसैपनि निम्ता आइहाल्थ्यो नि। चतुरबहादुर चन्द जानुभयो भन्नेमा बहस होइन तर अभिभावकीय जिम्मेवारीमा बसेको मान्छेले डाक्टरको कोटामा जानु कति सान्दर्भिक होला तपाई आफैं सोच्नुहोस न। टिममा एक जना डाक्टर अनिवार्य हो। तर उहाँले अन्य थुप्रै मान्छेलाई लानुभयो तर डाक्टर समावेश नगरिनु शंकास्पद छैन र ? भत्ताको लोभमा त्यसो गरिएको हो कि अन्य के कारण छ ? हामीले जवाफ खोजेका हौं।

हुन त क्यानका केही मान्छेको नियत एकदमै लोभी छ। अरु त अरु अमेरिकामा नेपाली जर्सी क्यानकै सदस्यको मिलेमतोमा कालोबजारीका रुपमा बिक्री भइरहेको भन्ने कुरा बाहिर आएको छ। तथ्य मसँग छ। जर्सीमै प्रायोजन गर्ने कम्पनीले त्यो गरेको भए पनि सुहाउथ्यो होला तर क्यानले गर्नु गलत हो। सत्यतथ्य छानबिन हुनुपर्यो। पटक पटक नेपाली क्रिकेट समर्थक, खेलकुद संघ, मन्त्रालय, परिषद्देखि लिएर क्यानका कार्यकारी सदस्यहरुलाई समेत यहाँ गुमराहमा राखिएको छ। यस्ता विषयले शंका जन्माएको छ। क्यानले आरोप लागेपछि पुष्टि गर्नुपर्छ। त्यही भएर छानबिनको माग गरेका हौं। निकटका मान्छेहरुलाई लिएर जानुको कारणबारे छानबिन हुनुपर्छ। किन पनि भने खेल क्षेत्रमा बजेट न्यून छ। क्रिकेटमा सरकारले दिएको बजेटले अन्य खेल र खेलाडीलाई त्यो पनि तल्लो तहमा पुग्न सक्ने बजेट कटौती भएको छ। यस्तो बेलामा मनलाग्दी गर्न कसैले पनि मिल्दैन। पारदर्शिता हुनुपर्छ।

अमेरिकामा ८० डलर पर्ने टिकटलाई १३५ डलरमा क्यानले बेच्यो भनेर तपाईंले अर्को पनि आरोप लगाउनु भएको छ। प्रमाण के छ ?
क्रिकेटकै समर्थकहरुले सोसल मिडियामा त्यो विषय प्रश्न उठाइरहनु भएको छ। त्यसको आधारमा मैंले भनेको हो। र वास्तविकतामा त्यो भइरहेको पनि छ। मेरा निकट मित्रहरुसँग बुझ्दा उनीहरुले त्यो पुष्टि गरेका छन्। अस्ति अमेरिकामा अध्यक्षज्युले बोल्दै गर्दा खैलाबैला भएको थियो। त्यही टिकटको विषयलाइ लिएर भएको हो भन्ने कुरा आएको छ। त्यसको त भिडियो नै सार्वजनिक भएको छ।

तपाईंले अर्को पनि आरोप लगाउनुभएछ। प्रधानमन्त्री कार्यालयको लेटरप्याड नै दुरुपयोग गरेको पनि भन्नुभएछ। जति पनि विषयमा बोल्नुभएको छ क्यानप्रति आरोपै मात्र लगाउनुभएको छ। यसलाई पुष्टि गर्ने आधार के हो ? क्यानका सचिवले विज्ञप्तिमार्फत क्यानप्रति भ्रम फैलाउनेलाई कानुनी कारबाहीमा जाने चेतावनी दिइसक्नु भएको छ। यसमा तपाईंको धारणा के हो ?
मानव तस्करीको आशंका थियो नि त्यो त पुष्टि भइसक्यो। मसँग प्रशस्त प्रमाणहरु छन्। तीन जना कर्मचारीलाई पदबाट हटाइएको कुरा झन ठूलो आधार प्रमाण हो। त्यसमा पनि क्यानका केही व्यक्तिहरुको संलग्नता छ। यसमा के बुझ्नुपर्छ भने संघको मुख्य व्यक्ति नै अध्यक्ष हुन्छ। अध्यक्षलाई नै पहिला शंका गरिन्छ। उनैमाथि प्रश्न पनि गरिन्छ। किनभने अध्यक्षको निर्देशनविना कुनै पनि कार्य हुँदैन। यसमा उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायतका पदाधिकारी र सदस्यहरुको भूमिका पनि शंकास्पद देखिन्छ। उहाँहरुले किन बोल्न सकिरहनु भएको छैन ? संस्थाकै सदस्यले मिडियामा बोलिरहनुभएको छ। उहाँले बोलेपछि त आधिकारिक हुन्छ नि।

तपाईं र तपाईं आबद्ध संस्था एमाले निकट भनेर चिनिन्छ। क्यानका अध्यक्ष कांग्रेस निकट भनेर चिनिनुहुन्छ। त्यसकारण तपाईंले लगाइरहेका आरोपहरु जति पनि ती सबै क्रिकेटलाई राजनीतिकरण गर्ने खेल त होइन? कांग्रेस–एमालेबीचको द्धन्द्ध त होइन ?
गलत कामलाई खेदो गरिन्छ। गर्नु पनि पर्छ। यसलाई राजनीतिक हिसाबले गरेको भनेर बुझ्न हुँदैन। खेलकुद महासंघले विगतका दिनमा क्यानको प्रतियोगिता र अध्यक्षज्यूको कार्यकाल सफल बनाउनलाई हाम्रो केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले प्रशस्त सहयोग गर्नुभएको छ। खेलाडीलाई सम्मान गर्नुपर्छ भनेर महासंघको तर्फबाट स्कुटी प्रदान गर्नुभएको छ। हिजोको दिनमा क्रिकेट संघभित्र केही गलत भएको खण्डमा हामीले उहाँहरुलाई हातेमालो गरेर गलत भएकामा सुधार गर्नुहोस् भनेर परामर्श दिएका पनि छौं। हामीहरु हिजो एउटै थलोमा बसेर काम गरेका हौं। अघिल्लो कार्यकाल पनि सहयोग गरेकै हो। तर आज हामी विकृति र बेथितिको विरुद्ध बोल्दा हामी अन्य पार्टीको भयौं ? राजनीति नै गर्नु थियो भने त उहाँले एमालेलाई ढोका लगाइदे भनेर क्यानकै जिम्मेवार व्यक्तिलाई भन्नुभएको होइन ? हामी क्यानमा जाँदा ढोका नै लगाउन भन्नुभएको कुरा सुनिराखेका थियौं तर, केही बोलेनौं।

राजनीति भनेको सम्पूर्ण खेल क्षेत्र र खेलाडीको उन्नति प्रगतिका लागि गर्नुपर्छ। दलको संगठनका लागि होइन भनेर लागेका छौं। हिजो उहाँसँग हातेमालो गरेकै हौं, क्यानका धेरै प्रतियोगिताहरुमा सहकार्य गरेका छौं। राजनीतिकर्मीको स्टन्टबाजी त उहाँले गरिरहनुभएको छ। मनिसलाई भ्रमित पारिरहनु भएको कुरा उहाँकै संस्थाका पदाधिकारीले समेत भनिरहनुभएको छ।

फेरि सन्दीपकै प्रसंग जोडौं, भिसाका लागि त क्यानको अगुवाइमा अमेरिकालाई सरकारले कूननीतिक नोट नै पठाएको चर्चा थियो। क्यानले पहल नगरेको त होइन नि ?
अझै पनि उहाँहरु भ्रमित पार्दै नै हुनुहुन्छ। मुख्य मुद्दा हाम्रो सन्दीप लामिछानेको पनि हो। साथै क्यानमा भएको आर्थिक अनियमितता र विकृतिप्रति हो। हाम्रै दबाबले क्यानले सन्दीपलाई वेस्ट इण्डिज त पठायो नि। हिजो चुप बसेका सन्दीप त्यहाँ पुगेर स्टाटस लेखे। त्यहाँभित्र लेखिएको कुरा पनि उनलाई दबाब दिएर लेख्न लगाइएको हो। व्यक्ति तोकेर जसरी लामिछानेले लेख्नुभएको छ, यसमा उनीमाथि दबाब दिइएको हो कि भन्ने मलाई लागेको छ।

खेलाउँदा पनि विवाद, नखेलाउँदा पनि विवाद गर्यो भन्नुहोला तर हिजोको दिनमा प्रतिश जीसीलाई किन टिममा राखियो र फेरि के आधारमा टिमबाट बाहिर राख्ने भनियो ? जिल्ला स्तरको खेल गराउँदा त खेलाडीलाई बाहिर राख्नुपर्यो भने मेडिकल रिपोर्ट मागिन्छ भने जीसीले पनि धेरै खेल खेलिसकेका छन् उनको ठाउँमा सन्दीपलाई रिप्लेस किन गरियो त ? हिजो त टिममा नाम राख्ने अवसर हुँदा पनि २५ जनाको टोलीमा समावेश नगरेको हो नि क्यानले। यस्ता यस्ता कुरामा भ्रम फैलाउने कुरा भएका छन् यो गम्भीर विषय हो।

टी–२० क्रिकेटमा नेपालले नेदरल्याण्डससँगको खेलमा अपेक्षित नतिजा निकाल्न सकेन। यसलाई कुन रुपमा हेर्नुभएको छ ? यसलाई पनि क्यानकै कमजोरी भन्ने कि ?
नेपालले सोचेअनुरुप नतिजा निकाल्न नसक्नुमा धेरे कुरा छन्। सन्दीप लामिछाने, जो नेपालका मुख्य खेलाडी हुन्, उनी नै थिएनन्। तपाईले क्रिकेट हेर्नुहुन्छ भने आईसीसीले नै एक जनालाई गेम चेन्जर भनेको छ। हो त्यस्तै गेम चेन्जर हुन् सन्दीप। हुन त हाम्रा सबै खेलाडीहरु दक्ष र अब्बल छन्। तर सन्दीप अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव र क्षमता अलि फरक छ। उनी टिममा हुँदा विपक्षी टोलीलाई दबाब पर्छ। त्यसमा पनि नेपाली खेलाडीलाई निरन्तर अभ्यास गराउनुभन्दा रेस्टुराँमा राखेर ‘ग्रिट एण्ड मिट’मा सहभागी गराएर फोटो खिचाएको देखियो। त्यसमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दको समेतको उपस्थिति थियो भन्ने समाचारमा आइरहेको छ। एउटा भिडियो नै सार्वजनिक भएको छ।

अर्को कुरा अमेरिकाका पिचहरुको कण्डिसन पनि त्यस्तै छ। धेरै टिमहरुले रन पनि बनाउन सकिरहेका छैनन्। भारत र पाकिस्तान जस्ता विश्व क्रिकेटका हस्तीहरुको खेल पनि न्यून स्कोरवाला नै भयो। नयाँ पिचहरु भएका कारण हो कि के हो, यस्तै भइरहेको छ। हाम्रा खेलाडीका लागि त झन नौलो ठाउँ। विश्वकपमा दोस्रो सहभागिता भएका कारण पनि दबाबमा खेल्नुपरेको छ। विश्वकपको अनुभव भएका सोमपाल कामीबाहेक कोही पनि छैनन्।

अभ्यास पनि गराइएन। एक महिना अघि अमेरिका गएका होइनन् ? नेपाल सरकारले दिएको पाँच करोड, आईसीसीले दिएको पाँच लाख अमेरिक डलर ले के गरे ? यही छानबिन गर्नुपर्ने माग त हामीले अघि सारेको हो नि। यहाँ क्यानले आयोजना भएका अन्य प्रतियोगितामा उठेको फण्डको के भयो ? धेरै नै अनियमिता भएको छ। कति कुरा गर्नु। यो कार्यकाल मात्र नभएर यो भन्दा अगाडिको कार्यकालको पनि छानबिन गर्नुपर्छ। दोषी जो भए पनि आवश्यक कारबाही गर्नुपर्छ। पछिल्लो समय अध्यक्षज्यूको स्टेटमेन्टकै आधारमा पनि उहाँ दोषी देख्छु। उहाँ त शिक्षक हो भन्ने थाहा थियो। अहिले टोलीसँग त उहाँ चिकित्सक भएर जानुभएको छ। उहाँले कहिले डाक्टरी गर्नुभयो ? एउटा जिम्मेवार मान्छेले त्यस्तो गरेर हुन्छ भन्या ? क्रिकेटमा धेरै विकृतिहरु बढेका छन्। मिडियाहरुले पनि उजागर गरिदिनुपर्यो।

Logo