आइसीसी विश्वकपअन्तर्गत शनिबार नेपालले साउथ अफ्रिकाविरुद्ध वेष्ट इन्डिजमा तेस्रो खेल खेल्दै छ । एक दशकपछि दोस्रो पटक विश्पकप खेलिरहेको नेपाली टोलीले यसअघि नेदरल्याण्ड्स र श्रीलंकाविरुद्ध खेल्दै पहिलो खेलमा हार र दोस्रो खेलमा अंक बाड्दै १ अंकका साथ समुहको चौंथौं स्थानमा रहँदै विश्वकपको सुपर ८ मा छनौट हुने आशाका साथ अघि बढिरहेको छ ।
अमेरिकी मैदानमा निरिह रहेका नेपाली ब्याटर र बलर वेष्ट इन्डिजको मैदानमा जादु छर्दै साउथ अफ्रिकालाई हराउने दाउमा छन् । अर्कोतर्फ समुह ‘डी’बाट सुपर ८ मा छनौट भइसकेको साउथ अफ्रिका शनिबारको खेलमा नेपालविरुद्ध आफ्ना बलिया खेलाडीलाई आराम दिने सम्भावना प्रवल छ ।
यदि यसो भएको खण्डमा नेपाललाई सहज हुनेछ । अर्कोतर्फ लामो समयपछि टोलीमा सन्दीप लामिछानेको आगमनसँगै नेपाली टोली शारिरीक र मानसिक दुवै पक्षबाट बलियो भएको छ । टोलीलाई आवश्यक परेको बेला बलिङ र ब्याटिङ दुवैबाट जादु छर्न सक्ने सन्दीप वेष्ट इन्डिजको मैदानबाट निकै परिचित छन् । वेष्ट इन्डिजको घरेलु क्यारेबियन लिगमा विकेटको वर्षा गरेका सन्दीपले शनिबार साउथ अफ्रिकाविरुद्ध पनि सोही प्रकारको प्रदशर्न गर्ने आशा गरिएको छ ।
तर नेपालको ओपनरले रन बनाउन नसक्नु अहिले टोली टोलीको सबैभन्दा ठुलो टाउको दुखाई बनेको छ । ओपनर कुशल भुर्तेल र आसिफ शेखबीच बलियो साझेदारी बन्न नसक्नु नेपाली टोलीको सबैभन्दा ठुलो कमजोरी हो । कुशल र आसिफले अछिल्ला खेलहरुमा ७ र ४ रन मात्र बनाउन सकेका छन् । यस्तै श्रीलंकाविरुद्धको दोस्रो खेल बर्षाका कारण रद्ध भएपछि दुबै खेलाडीले लय समातेका छन् कि छैनन् भनेर हेर्ने मौका मिलेको छैन् । अर्कोतर्फ नेपाली बलरहरुले पनि कुनै उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् । सोमपाल कामी, करण केसी र गुल्सन झाले सम्झन लायक प्रदर्शन गर्न सकेका छैनन् । तर यी सबैका बीच सन्दीप आशाको किरण बनेर टोलीमा पूनरागम गर्दा टोलीले केही भिन्न गर्न सक्छ कि भन्ने आशा पलाएको छ ।
अर्कोतर्फ समुहको ३ वटै खेल जितेर सुपर एटमा छनौट भइसकेको साउथ अफ्रिका नेपाली टोलीलाई पनि सहजै हराएर अपराजित हुँदै अर्को राउण्ड पूग्न चाहन्छ । एडेन मार्क्रमको कप्तानीमा रहेको अफ्रिकी टोलीमा क्विन्टन डिकक, हेनरिक क्लासन, डेभिड मिलरजस्ता बलिया ब्याटर छन् । कासिगो रबाडा, मार्को यान्सन, जेरल्ड कोयट्जीजस्ता तीव्र गतिका बलर र स्पिन बलिङमा केशव महाराज र तबरेज साम्सी जस्ता दिग्गज खेलाडीहरु छन्। साउथ अफ्रिकाले नेपालविरुद्ध तीव्र गतिको आक्रमण गर्न रणनीति लिन सक्ने सम्भावना बढी देखिन्छ ।
यदि शनिबार नेपालको बलिङ ब्याटिङ र फिल्डिङ तीनवटै स्थानमा सुधार गर्न सकेको खण्डमा नेपालले टेस्ट नेसन साउथ अफ्रिकालाई सहजै हराउन सक्ने छ । तर यदि नेपालले यी तीन स्थानहरूमध्य एउटामा मात्र चुके भने पनि हार बेहोर्नेछ । सुपर ८ को लक्ष्य सहित अघि बढिरहेको नेपालले शनिबारको खेल कुनै पनि हालतमा गुमाउन चाहँदैन। तर त्यसका लागि नेपालका लागि राम्रो खेल्नुको अलावा लकको पनि उत्तिकै साथ हुनुपर्ने आवश्यकता देखिन्छ।































प्रतिक्रिया