नेपालगञ्ज । ओलम्पियन पौडीबाज गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेर कीर्तिमान बनाएकी छन् । बुधबार चार स्वर्ण जितेसँगै उनको आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण संख्या १२ पुगेको हो । गौरिकाले पहिलो र दोस्रो दिन २–२ स्वर्ण जितेकी थिइन् भने तेस्रो दिन चार स्वर्ण जितेकी थिइन् ।
पौडी खेलमा नेपालकी नम्वर वान महिला पौडी खेलाडी (जलपरी) समेत रहेकी उनले लगातार स्र्ण पदक जित्दै आएकी हुन् । महिलातर्फ कलिलै उमेरमा नेपालकी ‘नम्वर वान जलपरी’ को चर्चा कमाउन सफल गौरिकाले सर्ट कोर्समा दुई वटा नयाँ राष्ट्रिय कीर्तिमानी कायम गर्न सफल भएको खेल प्रशिक्षक शंकर कार्कीले जानकारी दिए ।
पुर्खेयौली घर बझाङ रहेकी गौरिका सानैदेखि लण्डन बस्दै आएकी छन् । नेपाली सेनाको टिमबाट राष्ट्रिय प्रतियोगितामा भाग लिएकी सिंहले आज भन्दा १६ बर्षअघि ललितपुरको पाटन अस्पतालमा जन्मिएकी थिईन् ।
सानैदेखि स्विमिङमा सोख राख्ने गरेको बताउँदै उनले बेलायतमा नेपालको जस्तै एसईई उत्तीर्ण गरि ११ मा अध्ययन गरिरहेकी छन् । यस प्रतियोगितामा भाग लिन लण्डनबाट बाबु (डाक्टर) पारस सिंह र आमा गरिमा सिंहसँगै नेपाल आएकी हुन् ।































प्रतिक्रिया