कोपा अमेरिकाको ४८औँ संस्करणले सोमबार बिहानै नयाँ विजेता पाउँदैछ । अमेरिकी महाद्वीपअन्तर्गत १६ राष्ट्र सम्मेलित २४ दिनको महा–भिडन्तपछि सोमबार कोपा अमेरिकाले विजेताको रूपमा अर्जेन्टिना अथवा कोलम्बियालाई पाउने भएको हो । फाइनल खेल्ने अर्जेन्टिना साविक विजेता टोली पनि हो भने कोलम्बियाले २३ वर्षपछि कोपा अमेरिकाको उपाधि नजिक अर्थात् फाइनलमा पुगेको हो ।

विश्वविजेता अर्जेन्टिना कोपा अमेरिकाको साविक विजेताका साथसाथै यो प्रतियोगिताकै सबैभन्दा सफल टोली पनि हो । अर्जेन्टिनाले हालसम्म कोपा अमेरिकाको ट्रफी १५ पटक उचालिसकेको छ । तर, जारी संस्करणमा कोलम्बिया निकै शानदार लयमा चलिरहेको छ । यसले अर्जेन्टिनालाई चुनौती दिने पक्का छ । अझ भनौँ कोलम्बिया इतिहासकै सबैभन्दा उत्कृष्ट लयमा छ । सन् २०२२ को फेब्रुअरीमा अर्जेन्टिनासँग पराजय भोगेपछि कुनै खेल नहारेको कोलम्बिया २९ खेलसम्म अपराजित छ । कोलम्बियाले दक्षिण अमेरिकी समूहको विश्वकपको छनोटमा ब्राजिल तथा मैत्रीपूर्ण खेलमा स्पेन र जर्मनीलाई समेत हराइसकेको छ । यसैगरी यसअघि भएको मैत्रीपूर्ण खेलमा कोलम्बियाले अर्जेन्टिनालाई ४–१ गोलको लज्जास्पद हार चखाइसकेको छ । सोही कारण विश्व फुटबलको शक्ति राष्ट्रहरुलाई एकपछि अर्को हारको स्वाद चखाइ सकेको कोलम्बिया निकै आत्मविश्वासी बनेको छ ।

समूह चरणमा कोलम्बियाले ब्राजिलसहित कोस्टारिका र पाराग्वेको सामना गरेको थियो। ब्राजिलसँग बराबरी खेलेको कोलम्बिया अन्य दुई खेलमा सानदार जित हात पार्दै शीर्ष स्थान पाउन सफल भएको थियो। क्वाटरफाइनलमा कोलम्बियाले पानामालाई ५–० गोलले हराएको थियो। जारी कोपा अमेरिकामा यो सबैभन्दा फराकिलो अन्तरको जित हो। यो संस्करणको कोपा अमेरिकामा कोलम्बियालाई दोस्रो पटक इतिहास कोर्ने सुनौलो अवसर छ।
तर पछिल्लो पटक अर्जेन्टिनासँग हारेको टोली फेरी पनि अर्जेन्टिनासँग नै हारेर जितको श्रृङखला टुङ्ग्याउलान कि भन्ने धेरैले आंकलन गरेका छन् । सोमबार बिहान ५ः४५ बजे अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सुरु हुने फाइनल खेललाई लियोनल मेसी र हामेस रोड्रिगोएजबीचको लडाईका रुपमा पनि हेरिएको छ ।

जारी प्रतियोगितामा ६ असिस्ट गोल गरिसकेका हामेस प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडी हुने प्रवल सम्भावना छ । अर्कोतर्फ प्रतियोगिताभर सेमिफाइनलमा मात्रै क्यानडाविरुद्ध ५१औं मिनेटमा ट्याप इन गोल गरेका मेसी जारी प्रतियोगितामा खासै चल्न सकेका छैनन् ।

तर फाइनलमा मेसीको जादु चलेको खण्डमा कोलम्बियालाई निकै गाह्रो हुने पक्का छ । २३ वर्षदेखि उपाधिको भोको रहेको कोलम्बिया विश्वविजेता अर्जेन्टिनालाई कुनै पनि हालतमा हराउने दाउमा छ भने अर्कोतर्फ साविक विजेता अर्जेन्टिना विश्वकपको अनुभवलाई फाइनलमा भरपूर प्रयोग गर्नेमा विश्वस्त छ ।





























प्रतिक्रिया