एसिया कपमा नेपालको पहिलो जित, युएईविरुद्ध सम्झनाको सम्झनलायक इनिङ

एसिया कपमा नेपालको पहिलो जित, युएईविरुद्ध सम्झनाको सम्झनलायक इनिङ

केन्द्रबिन्दु
33
Shares

ओपनर सम्झना खड्काको सम्झनलायक प्रदर्शनमा नेपालले नवौँ संस्करणको एसिया कप टी-२० महिला क्रिकेटको पहिलो खेलमा युएईविरुद्ध ६ विकेटको सानदार जित दर्ता गरेको छ । एसिया कपको इतिहासमै यो नेपालको पहिलो जित हो ।

यसअघि दुई संस्करणमा ८ खेल खेल्दा नेपाल सबैमा पराजित भएको थियो ।

श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा युएईले दिएको ११६ रनको विजयी लक्ष्य नेपालले १६ दशमलव १ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । ओपनर सम्झनाले ४५ बलमा ७२ रनको सानदार अर्धशतकीय पारी खेलिन् । सो क्रममा उनले ११ चौका प्रहार गरिन् । उनको यो करिअरको पहिला अन्तर्राष्ट्रिय अर्धशतक पनि हो ।

यसैगरी नेपालका लागि पूर्व कप्तान रुविना क्षेत्रीले १० रन जोड्नुबाहेक अन्यले दोहोरो रन छुन सकेनन् । सिता रानामगर १७ बल खेलेर ७ रन जोडेर आउट भइन् । कप्तान इन्दु बर्माले पनि १० बलमा ६ रन मात्रै जोडिन् । तर, ओपनर सम्झनाले भने नायकत्व प्रदर्शन गर्दा नेपालले इतिहासमा हारको मात्र होइन जितको पनि छाप छाड्न सफल भयो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११५ रन जोडेको थियो । युएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन जोडिन् । उनले ३९ बल खेल्दा २ चौका प्रहार गरिन् । यस्तै, कविशा इगोडागेले २२ रन, समाइरा धरनिधर्क १३ रन तथा कप्तान इशा ओझा १० रनमा समेटिइन् । अन्यले दोहोरो रन छुन सकेनन् । १० ओभरमा ५७ रन जोड्दा ४ विकेट मात्रै गुमेको स्थितिमा रहेको यूएईले इनिङको अन्त्यतिर भने चाहेजस्तो रन जोड्न सकेन ।

यूएईलाई रोक्न बलिङतर्फ नेपालका लागि कप्तान इन्दु वर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । सबनम राई, कविता जोशी र कृतिका मरासिनीको हातमा एकएक विकेट रह्यो । रुविना क्षेत्रीले ४ ओभरमा १८ रन र सिता रानामगरले ३ ओभरमा १२ रन मात्र खर्चिए ।

नेपालले अब आइतबार पाकिस्तानको सामना गर्नेछ । त्यसपछि मंगलबार समूहको अन्तिम खेलमा नेपाल र भारत खेल्नेछन् । भारत र पाकिस्तान त उपाधिको दाबेदार नै हुन् । भारत र पाकिस्तानलाई हराउन नेपालका लागि गाह्रो नै छ । तर, आजको प्रदर्शनलाई पनि अझै सुधार्ने हो भने त्यो पनि असम्भव भने छैन ।

Skip This
Skip This
Logo