काठमाडौँ । सामोआका ब्याट्सम्यान डारियस भिसेरले आईसीसी पुरुष टी २० विश्वकप २०२६ अन्तर्गत पूर्वी एसिया प्रशान्त उपक्षेत्रिय छनोट–ए अन्तर्गतको खेलमा एकै ओभरमा सर्वाधिक रन बनाउने कीर्तिमान रचेका छन् । भिसेरले भानुआटुका तीव्र गतिका बलर नलिनविरुद्ध खेलको १५औँ ओभरमा कूल ३९ रन जोड्न सफल भएका हुन् ।
उनले सुरुवाती तीन बलमा लगातार छक्का प्रहार गरेका थिए । चौथो बल नो बल हुँदा उनले फ्रिहिटमा अर्को छक्का प्रहार गरेका थिए । पाँचौ बल डट भएको थियो । तर छैटौँ बल फेरि नो बल भयो । त्यसपछिको बल पनि नो बल हुँदा उनले छक्का प्रहार गरेका हुन् । त्यसपछि फ्रिहिटमा छक्का प्रहार गर्दा सो ओभरमा कूल ३९ रन बनाएका थिए । यससँगै यसअघि एकै ओभरमा बनेको ३६ रनको कीर्तिमान भंग भएको छ ।
सन् २००७ को पहिलो टी२० विश्वकपमा भारतका युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गरेर कीर्तिमान बनाएका थिए । वेस्ट इन्डिजका केइरन पोलार्ड (२०२१), निकोलास पूरन (२०२४), नेपालका दीपेन्द्रसिंह ऐरी (२०२४), भारतका रोहित शर्मा रिंकु सिंह (२०२४ संयुक्त) ले पनि एकै ओभरमा ३६ रन जोडेका थिए ।
मंगलबार कीर्तिमानी ब्याटिङ गरेका भिसेरले ६२ बलमा ५ चौका र १४ छक्का प्रहार गरेर १३२ रन जोडे । उनको शतकको मद्दतमा ओसिनियन मुलुक समोआले १७४ रन जोडेको थियो । १७५ रनको लक्ष्य पछ्याएको भानुआटुले ९ विकेटको क्षतिमा १६४ रन जोड्दा समोआले १० रनले खेल जितेको छ ।





























प्रतिक्रिया