भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा

भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा

केन्द्रबिन्दु
342
Shares

आयोजक नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ गोलअन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समय १-१ गोलको बराबरीमा राेकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा नेपालका गोलकिपर जियारेथ शेख नायक बने । उनले भुटानविरुद्ध दोस्रो र तेस्रो प्रहार रोकेका थिए भने नेपालका लागि चौथो प्रहार आफैंले गर्दै नेपाललाई फाइनलको यात्रा तय गराएका हुन् । उनी गोलकिपरसँगै गोल गर्न पनि चुकेनन् । उनले भुटानका जिग्मे नाम्गेल र उग्वेन जिग्मेको प्रहार विफल पारे ।

नेपालका लागि भने जियारेथसहित राम थापा, अभिनाश स्याङतान र सेमन्त थापाले गोल गरेका थिए ।

त्यसअघि खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेका थिए । खेलको ५६औँ मिनेटमा भुटानले अग्रता लिएको थियो । जेत्सन दोर्जीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको गोल भएको थियो ।

भुटान खेलको ७७औँ मिनेटमा १० खेलाडीमा सीमित बन्यो । भुटानका किन्जाङ तेन्जिङलाई रेफ्रीले रातो कार्ड देखाउँदै बाहिर पठाएका थिए । किन्जाङले नेपालका खेलाडीमाथि फाउल गरेका थिए । खेलको ७८औँ मिनेटमा नेपालले बराबरी गोल फर्कायो । रातो कार्डपछि नेपालले पाएको फ्रिकिक बलबाट आएको पासबाट निराजन धामीले करिब सिक्स यार्ड बक्समा हेड गर्दै बललाई जाली चुमाए ।

च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा भोलि भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

Logo