श्रीलंकाविरुद्ध ४-० को जित निकाल्दै नेपाल महिला साफ च्याम्पियन्सको फाइनलमा

श्रीलंकाविरुद्ध ४-० को जित निकाल्दै नेपाल महिला साफ च्याम्पियन्सको फाइनलमा

केन्द्रबिन्दु
0
Shares

नेपाली महिला राष्ट्रिय टोलीले विराटनगरमा जारी पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध शानदार जित निकाल्दै नेपालले अन्तिम दुईमा स्थान बनाएको हो ।

विराटनगरको शहीद रंगशालामा भएको उक्त खेलमा आयोजक नेपालले श्रीलंकालाई ४–० गोल अन्तरले हराएको हो । नेपाललाई अन्तिम दुईमा स्थान दिलाउन पुनम जर्घामगर, अनिता बस्नेत, साबित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेलले एक–एक गोल गरे ।

फाइनल प्रवेशका लागि भएको यस खेलमा नेपाललले जर्घामगरको गोलमार्फत अग्रता बनाएको थियो । नेपालका लागि जर्घामगरले खेलको ४२ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् ।

यस्तै खेलको ७२ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । यसैगरी फरवार्ड साबित्रा भण्डारीले ८० औं मिनेटमा गोल गर्दै नेपालको अग्रता तेब्बर बनाइन् । यस्तै खेलको ८५ औं मिनेटमा नेपालका लागि रेखा पौडेलले गोल गर्दै ४–० को जित दिलाइन् । यससँगै नेपालले फाइनलमा स्थान बनाएको छ ।

Logo