काठमाडौँ । पेरिस पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनले अब नेपालसँग पनि ओलम्पिक पदक छ भनेर गर्वका साथ भन्न पाउने इतिहास बनाउन पाउँदा निकै खुसी लागेको बताएकी छिन् । बुधबार राष्ट्रिय खेलकुद परिषद्को स्वागत कार्यक्रममा सबैले पलेशाले मेडल लिएर आउँछे भनेर आशा गरिरहेको अवस्थामा त्यो आशालाई आफूले पूरा गरेर फर्किएको भन्दै नेपालसँग पनि ओलम्पिक पदक छ भन्ने इतिहास बनाउन पाउँदा निकै खुसी लागेको बताइन् ।
उनले भनिन्,‘एकदमै खुसी छु म आज, किनभने मैले आशा गरेकी थिइनँ कि आज मेडल हात मार्न सक्छु भनेर । सबैले एउटा आशा गर्नुभएको थियो कि पलेशाले मेडल लिएर आउँछे भनेर, मैले त्यो पूरा गरेर फर्किएकी छु । यो मेडल मेरो मात्र होइन सबैको हो । अब हामी गर्वको साथ भन्न सक्छौँ कि हामीसँग पनि एउटा ओलम्पिक मेडल छ ।’
विमानस्थलबाट मन्त्री, सदस्यसचिव र पदक विजेता पलेशासहितको गाडीलाई नगर परिक्रमा गराइएको थियो । पलेशालाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्मा पुर्याएर स्वागत गरिएको हो ।
प्रतिक्रिया