यी महान् फुटबलर जसले ‘बालोन डी’ओर जिते, तर कहिल्यै विश्वकप खेलेनन् [भिडियाे]

यी महान् फुटबलर जसले ‘बालोन डी’ओर जिते, तर कहिल्यै विश्वकप खेलेनन् [भिडियाे]

केन्द्रबिन्दु
434
Shares

काठमाडौं । एउटा पनि विश्वकप नखेलेर विश्वकै सबैभन्दा प्रतिष्ठित फुटबल अवार्ड ‘बालोन डी’ओर जित्ने खेलाडी पनि यो संसारमा छन् भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ ! तर यो यथार्थ हो । अफ्रिकन राष्ट्र लाइबेरियाका २५औं राष्ट्रपति तथा अफ्रिकन महादीपका सर्वकालिन महान फुटबलरका रुपमा परिचित जर्ज वेवले एउटा पनि विश्वकप नखेली फुटबल प्रतियोगिताकै सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्ड ‘बालोन डी’ओर जितेका हुन्।

५८ वर्षअघि मंगलबारका दिन अर्थात सन् १९६६ अक्टोबर १ तारिखका दिन जर्ज वेवको जन्म भएको थियो । लाइबेरियाको राजधानी मोनरोभियास्थित निकै गरिब परिवारमा जन्मिएका वेव शहर छेउकै दुर्गम बस्तीमा हुर्केका थिए। उनका पिता मेकानिक थिए भने उनकी माता अन्ना क्वेरवेव एक व्यापारी थिइन्। उनले प्रारम्भिक शिक्षा मुस्लिम कंग्रेसको माध्यमिक विद्यालय र वेल्स हेयरस्टन हाई स्कूलबाट लिएका थिए ।

तर उनले पढाई बिचैमा छाडेर १५ वर्षको उमेरमा आफू बस्ने स्थान भन्दा केही पर क्लारा टाउन मा रहेको चौथो स्तरको क्लब यंग सर्वाइभर्सका लागि फुटबल खेल्न थालेका थिए । क्लब यंग सर्भाइभर्सका लागि तीन वर्ष खेलिसकेपछि उनको प्रदर्शन र फुटबलप्रतिको मोह देखेर क्लबले उनलाई चौथो स्तरबाट सिधैं दोस्रो स्तरको फुटबल प्रतियोगितामा छनौट गराएका थिए ।

सन् १९८४ मा लाइबेरियन प्रिमियर लिग क्लब बोंग रेंज युनाइटेडका लागि अनुबन्ध भएका वेव लाइबेरियाको सबैभन्दा ठूलो क्लब माइटी ब्यारोलमा सामेल हुनुअघि एक सिजन त्यहि बिताएका थिए । क्लबका लागि नियमित गोल गरेता पनि प्रसिद्धी नपाएका वेव सन् १९८७ मा माइटी ब्यारोलेका लागि लाइबेरियन प्रिमियर लिग नै जिताउन सफल भए । उक्त वर्ष वेव लिगकै सर्वाधिक गोलकर्ता पनि बने ।

सन् १९८६ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका वेवले राष्ट्रका लागि १८ गोल गर्नुका साथैं समग्र करिअरभर १९३ गोल गर्न सफल भएका थिए । सन् १९८८ मा युरोपियन क्लब मोनाकोमा आबद्ध भएका वेवले सन् १९९१ मा मोनाकोका लागि च्याम्पियनसिपको उपाधि नै जितेका थिए । अर्को वर्ष नै पेरिस सेन्ट–जर्मेन(पिएसजी)मा आबद्ध भएका वेवले ५ वर्ष पिएसजीमा नै बिताउँदै एउटा लिग–१ ट्रफी पनि जित्न सफल भएका थिए । उनी पिएसजीबाट १९९४ मा सर्वाधिक गोलकर्ता पनि बनेका थिए ।
पिएसजीका लागि लिग–१ को ट्रफी जिताउनुका साथैं दुई फ्रान्सेली कप पनि जिताएका वेवले पिएसजीलाई युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्याएका थिए । उनको यहि प्रदर्शन र योगदान स्वरुप उनलाई फुटबलकै सर्वाधिक उच्च सम्मान अर्थात बालो डी’ओर दिइएको थियो ।

गोल गर्न माहिर वेवले लाइबेरियालाई विश्वकपसम्म पुर्याउन नसकेपनि उनले दुईपटक अफ्रिकन कप अफ नेशन्स भने खेलेका थिए । ३ पटक अफ्रिकन प्लेअर अफ दि इयर भएका वेवले एसी मिलानबाट २ पटक सिरी ‘ए’ उपाधि जितेका थिए। सन् २००३ मा १८ बर्षको फुटबल करियरबाट बिदा लिनुअघि उनले इङ्लिस क्लवहरु चेल्सी, म्यान्चेस्टर सिटी इटालियन क्लव एसी मिलान र फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेनलगायतका क्लबबाट व्यावसायिक रूपमा फुटबल खेलेका थिए ।

Logo