नवौं राष्ट्रिय खेलकुदको बिषयमा खेल संघसँग छलफल गर्दै राखेप

नवौं राष्ट्रिय खेलकुदको बिषयमा खेल संघसँग छलफल गर्दै राखेप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुदका बिषयमा निर्णय गर्न राष्ट्रिय खेल संघलाई छलफलमा बोलाएको छ । राखेपले कोरोना महामारीले प्रभावित बन्ने देखिएको नवौ आयोजनाको सम्भावना र तयारीका बिषयमा छलफल गर्न राष्ट्रिय खेल संघलाई बुधबार छलफलमा बोलाएको हो ।

राखेपले आठौं राष्ट्रिय खेलकुदमा सहभागी बनेका राष्ट्रिय संघलाई छलफलमा बोलाउने तयारी गरेको हो । युवा तथा खेलकुद मन्त्रालयमा गत मंसिर १८ गते बसेको मन्त्रीस्तरीय बैठकले नवौंको बिषयमा राष्ट्रिय संघसँग छलफल गरेर निर्णय लिने निष्कर्ष निकालेको थियो ।

राखेपले नवौं राष्ट्रिय खेलकुद फागुन २० देखि २७ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिसकेको छ । तर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण निर्धारित समयमै नवौं हुनेमा आशंका छ ।

राखेप प्रवक्तासमेत रहेका प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले नवौंको विषयमा छलफल गर्न राष्ट्रिय संघको बैठक आह्वान गरिएको बताए ।

नवौं आयोजनाका लागि गण्डकी प्रदेशमा पूर्वाधारको खासै समस्या नहुने राखेपको तर्क छ । तर कोरोना कहरका बीच प्रतियोगिता आयोजनामा कठिनाई देखिएको छ । अधिकांश खेलका खेलाडीहरु गत चैतबाट सामान्य प्रशिक्षणमा फर्कन पाएका छैनन् । सामान्य प्रशिक्षण समेत सुरु गर्न नसकेका राखेप र खेल संघले राष्ट्रिय प्रतियोगिता गर्न नसक्ने धेरैको तर्क छ ।

Logo