काठमाडौं । पाहुना टोली पाकिस्तानले अस्ट्रेलियाविरुद्धको एकदिवशीय सिरिज जितेको छ । आज पर्थमा भएको तेस्रो खेलमा घरेलु टोली अस्ट्रेलियामाथि ८ विकेटको जित दर्ता गर्दै पाकिस्तानले सिरिजको उपाधि २-१ ले उचालेको हो ।
अस्ट्रेलियाले दिएको १४१ रनको सामान्य विजयी लक्ष्य पाकिस्तानले २६.५ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानको जितमा ओपनरद्वय शैम अयुवले ४२ रन र अब्दुल्लाहले ३७ रन जोडे । यसैगरी बाबर अजामले २८ रन र कप्तान मोहम्मद रिजवानले ३० रनका साथ खेललाई फिनिसिङ दिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली अस्ट्रेलिया ३१ ओभर पाँच बलमा एक सय ४० रनमा समेटिएको थियो । अस्ट्रेलियाका लागि सेन एबटले ३०, म्याथ्यू सर्टले २२, एडम जाम्पाले १३, आरोन हार्डी र स्पेन्सर जोनसनले १२/१२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
अस्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका लागि शाहीन साह अफ्रिदी र नसीम साहले समान तीन/तीन विकेट लिए भने हरिस रौफले दुई र मोहम्मद हसनैनले एक विकेट लिए ।
पहिलो खेल अस्ट्रेलियाले दुई विकेट र दोश्रो खेला पाकिस्तानले नौ विकेटले जितेको थियो । अब अस्ट्रेलिया र पाकिस्तानबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज पनि हुनेछ ।





























प्रतिक्रिया