सर्वोच्चद्वारा एनपीएल आयाेजना गर्ने बाटो खुला, आमिरको पक्षमा आएन आदेश

सर्वोच्चद्वारा एनपीएल आयाेजना गर्ने बाटो खुला, आमिरको पक्षमा आएन आदेश

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रिमियर लिग (एनपीएल) सञ्चालन गर्ने बाटो खुला गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सञ्चालन गर्न लागेको पहिलो संस्करणको एनपीएलको स्वामित्वमा जोरा स्पोर्ट्स म्यानेजमेन्ट प्रालिका आमिर अख्तरले दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमाथि सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले यो प्रकरणमा कारण देखाऊ आदेश भने जारी गरेको छ ।

आमिर अख्तरले सन् २०१४ मा धनगढीमा नेपाल प्रिमियर लिग एनपिएल गराएका थिए । तर, त्यो विवादित बनेको थियो । अख्तरले एनपिएल नाममा प्रतियोगिता गराएपछि क्यानभित्रै विरोध भएको थियो। एनपिएल लिग क्यान आफैले गर्नुपर्ने आवाज उठेपछि अख्तरले एभरेस्ट प्रिमियर लिगको नाममा अर्को लिग सञ्चालन गरेका थिए। अहिले क्यान आफैले एनपिएल आयोजनाको तयारी गरिरहँदा अख्तरले प्रतियोगिताको स्वामित्वलाई लिएर दाबी प्रस्तुत गरेका थिए । सुरुमा आमिरले अल्टिमेटम दिएर क्यानलाई सहमति गर्न नत्र कानूनी उपचार खोज्ने चेतावनी दिँदै आएका थिए, तर क्यानले अटेर गरेपछि सर्वोच्च पुगेका उनी अन्तरिम आदेश नपाएपछि निराश बनेका छन् । अब क्यानलाई थप सहज भएको छ ।

क्यानले एनपीएल मंसिर १६ गतेबाट आयोजना गर्ने तयारी गरिरहेको छ । त्यसको तयारीस्वरुप क्यानले प्रतियोगिताका लागि खेलाडीहरुको अक्सनसमेत गराइसकेको छ । प्रतियोगितामा सहभागी आठवटै क्लब आ(आफ्नो तयारीमा ब्यस्त छन् । क्लबहरुले प्रतियोगिताको तयारीका लागि ठुलो राशी खर्च गरिसकेको छन् । विदेशी खेलाडी पनि भित्र्याएका छन् ।

Logo