एनपीएलमा विदेशी खेलाडी भित्र्याउने होड, कुन टोलीमा को को भित्रिए ? कुन टोली बलियो ? [भिडियाेसहित]

एनपीएलमा विदेशी खेलाडी भित्र्याउने होड, कुन टोलीमा को को भित्रिए ? कुन टोली बलियो ? [भिडियाेसहित]


काठमाडाैं । नेपालमा पहिलोपटक हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन अब एक साता मात्रै बाँकी छ । नेपाली क्रिकेट इतिहासमै सबैभन्दा धेरै पैसा खर्चेर, सबैभन्दा धेरै विदेशी खेलाडी भित्राएर आयोजना गर्न लागिएको क्रिकेट प्रतियोगितालाई एसोसिएट्स राष्ट्रको आइपीएलका रुपमा हेर्न लागिएको छ ।

भारतीय घरेलु क्रिकेट लिग इन्डियन प्रिमियर लिग आइपीएलकै फम्र्याटमा सुरु हुन लागेको एनपीएलमा नेपाली क्रिकेटले पानी सरी पैसा बगाएर विदेशी खेलाडी भित्राई रहेको छ । यति मात्रै नभएर विश्वकै नजर नेपाली घरेलु क्रिकेटमा जाओस भनेर क्यानले खेलका सम्पूर्ण आधिकारिक प्रशारणको अधिकार स्टार स्पोर्ट्सलाई दिएको छ । स्टार स्पोर्ट्सलाई सम्पूर्ण प्रशारणको अधिकार दिँदा नेपाली क्रिकेटको पहुँच विश्व समुदायसम्म पुग्ने विश्वास लिएको छ ।

निकै महत्वकांक्षाका साथ मंसिर १५ गतेदेखि सुरु हुन गइरहेको एनपीएलमा जम्मा २८ खेल खेलाईने छ । ती सबै २८ खेल टियू स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै सम्पन्न हुनेछन् । सिंगल राउण्ड रोविनका आधारमा खेलाइने एनपीएलमा लिग चरणपछि शीर्ष चारमा रहने टोली सिधैं प्लेअफमा प्रवेश गर्नेछन् । जहाँ पहिलो र दोस्रो हुने टिमबीच क्वालिफायर राउण्ड हुनेछ। यो राउण्डको विजेता टोली सिधै फाइनल पुग्नेछ। यस्तै तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल खेलाइने छ ।

एलिमिनेटरमा पराजित हुने टोली बाहिरिनेछ भने एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर खेल खेलाइने छ । यसको विजेता टोली फाइनल पुग्नेछ। फाइनल खेल ६ पुसमा हुनेछ।

नेपाली क्रिकेट इतिहासमै यति ठुलो ग्राण्ड स्केलमा सुरु हुन गइरहेको प्रतियोगितामा प्रत्येक टोलीले ६ जना विदेशी खेलाडी भित्राउन पाउँछन् । जसमा ४ विदेश खेलाडी भने अनिवार्य रुपमा खेलाउनु पर्ने प्रावधान क्यानले तोकेको छ । यसको अर्थ एनपीएलमा सहभागी ८ टोलीले समग्रमा ४८ विदेशी खेलाडी भित्राउन पाउँछन् । ती विदेशी खेलाडीलाई कतिमा भित्राउने, कसरी भित्राउने भन्ने निर्णय भने स्वयंम क्लवकै अधिनमा रहेको पनि क्यानले बताउँदै आएको छ ।

एनपीएलमा सहभागी ८ टोली पोखरा एभेन्जर्स, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स र चितवन राइनोजले हालसम्म जम्मा ३८ जना विदेशी खेलाडी भित्राइसकेका छन्। भने केही टोलीहरूले अझैं केही विदेशी खेलाडीको अन्तिम टुंगो लगाउन बाँकी नै रहेको छ। यो रिपोर्ट तयार पार्दासम्म १६ देशका खेलाडीहरुले एनपीएल खेल्ने पक्का भइसकेको छ ।

जसमा सर्वाधिक बढी अर्थात ८ खेलाडी इंग्ल्यान्डबाट मात्रै भित्राइएको छ। यस्तै अमेरिकाबाट ४, वेस्ट इन्डिज, न्युजिल्यान्ड, पाकिस्तान र स्कटल्यान्डबाट ३–३ खेलाडीलाई टोलीमा अनुबन्ध गराई सकेको छ। यस्तै २–२ खेलाडी भित्रिने देशमा अफगानिस्तान, नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । छिमेकी भारतसहित अस्ट्रेलिया, दक्षिण अफ्रिका, ओमान, क्यानडा, युएई र हङकङ गरी ७ देशका १–१ खेलाडीले पनि एनपिएल खेल्ने पक्का भइसकेको छ ।

झन्डै एक महिना नेपालमै बस्नुपर्ने र मोटो रकममा नेपाली लिगमा आवद्ध हुने भएकाले सबै विदेशी खेलाडीले अनिवार्य श्रम स्वीकृति रुपमा लिनुपर्ने नेपालको कानुनमै उल्लेख गरिएको छ । सोही कार्य सहजताका लागि क्यानले राष्ट्रिय खेलकुद परिषदसँग समन्वय गर्दै हेल्प डेक्स नै स्थापना गरेको छ ।

लिग सुरू हुनुअघि परिषदमार्फत् श्रम स्वीकृतिको काम पूरा गर्ने क्यानका सचिव पारस खड्काको भनाइ छ । हुन त यसअघि पनि क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी दिएको थियो । तर उक्त लिग खेल मिलेमतो र आर्थिक अनियमिततालगायत विषयमा विवादित बनेपछि पहिलो संस्करणपछि अघि बढ्नै सकेन । समग्र नेपाली क्रिकेट विकासको नयाँ आयामका रुपमा हेरिएको उक्त प्रतियोगिता विवाद, म्याच फिक्सिङ र भद्रगोलमै सकिएको थियो ।

उक्त समय भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स र क्यानले सम्झौता गर्दादेखि नै विवाद र आलोचना सुरू भएको थियो । जसले नेपाली क्रिकेटमा विकासभन्दा पनि विनाश निम्त्याएको थियो । सट्टेबाज, स्पट फिक्सिङ र म्याच फिक्सिङको काण्डले पहिलो संस्करणमै नेपाल टी–२० लिगले अन्तर्राष्ट्रिय जगत्मै नेपाली क्रिकेटलाई लज्जित बनाएको थियो । स्पट फिक्सिङको आरोपमा पूर्वक्रिकेटर मेहबुब आलम र आदिल अन्सारीलगायत ५ जनालाई पक्राउ गरेर अनुसन्धान नै गरिएको थियो । तर पाँच जनाविरुद्ध नै स्पट फिक्सिङको पर्याप्त प्रमाण नभेटिएको भन्दै जिल्ला अदालत काठमाडौंले सफाई दिएको थियो ।

सोही कुरालाई मध्यनजर गर्दै यस पटक क्यानले विदेशी खेलाडी भित्राउने सम्पूर्ण अधिकार क्लब स्वयंमलाई दिएता पनि खेलाडी भित्राउने सम्पूर्ण प्रक्रृयामा राखेपसँग समन्वय गरी हातेमालो गरिरहेको छ । लिगमा नेपालका आठ जना मार्की खेलाडी रहने छन् भने अक्सनबाट ८० नेपाली खेलाडी र स्थानीय ८ खेलाडी गरी एनपिएलमा नेपालबाट मात्रै कम्तिमा पनि ९६ खेलाडीको सहभागिता हुने छ।

यसैगरी विदेशबाट भित्रिने ४८ खेलाडीमध्ये ४ टेस्ट राष्ट्रबाट खेलिरहेका खेलाडीलाई मात्रै नेपालले खेलाउन पाउने आइसिसीले क्यानलाई निर्देशन दिएको छ। हालसम्म ३७ खेलाडीले एनपीएल खेल्ने पक्का भइसक्दा अधिकांश खेलाडीको सम्झौता रकम भने अहिलेसम्म खुलाइएको छैन। एनपीएल खेल्नका लागि नेपाल आउने ठुला नामहरुमा भारतका शिखर धवन, अस्ट्रेलियाका बेन कटिङ, न्युजिल्यान्डका मार्टिन गुप्टिल र न्युजिल्यान्डकै जिमी निशम जस्ता चर्चित खेलाडीहरु हुन् ।

एनपीएलका लागि सन्दिप लामिछानेको विराटनगर किंग्सले न्युजिल्यान्डका मार्टिन गप्टिल, ओमानका अकिब इल्यास, क्यानडाका निकोलास किर्टन, स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलमलाई भित्राई सकेको छ ।


यसैगरि आशिफ शेखको जनकपुर बोल्ट्सले न्युजिल्यान्डका जिमी निशम, पाकिस्तानका शोएब मक्सुद, पाकिस्तानकै मोहमद मोहसिन, अमेरिकाका जोशुआ ट्रम्प र अमेरिकाको लाहिरू मिलन्थालाई भित्राई सकेको छ।

कुशल मल्लको चितवन राइनोजले पनि इंग्ल्यान्डका रवी बोपारा, दक्षिण अफ्रिकाका मार्चन्ड डे लांग, इंग्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाईन, अफगानिस्तानका हसन इसाखिल र नामिबियाका जान निकोल लोफ्टी इटनलाई भित्राई सकेको छ।

अर्कोतर्फ करण केसीको काठमाडौं गुर्खाजले पनि इंग्ल्यान्डका नाथन सोउटर, इंग्ल्यान्डकै स्टेफन इस्किनाजी र ड्यान डौथवेट, नेदरल्यान्ड्सका माइकल लेभिट र नामिबियाका जेहार्ड एरासमसलाई भित्राई सकेको छ।

कुशल भुर्तेलको पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका रेमन राइफर, इंग्ल्यान्डका म्याट क्रिचली, अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डे लिडे र स्कटल्यान्डका माइकल लिस्कलाई भित्राई सकेको छ ।

कप्तान रोहित पौडेलको लुम्बिनी लायन्सले अस्ट्रेलियाका बेन कटिङ, इंग्ल्यान्डका टम मूर्स, वेस्ट इन्डिजका रेमन सिमन्ड्स, अमेरिकाका उन्मुक्त चन्द, क्यानडाका अलराउण्डर साद बिन जफरलाई भित्राई सकेको छ ।

अलराउण्डर सोमपाल कामीको कर्णाली याक्सले पनि भारतका शिखर धवन, पाकिस्तानका हुनेस तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र हङकङका बाबर हायतलाई भित्राई सकेको छ।

दिपेन्द्र सिंह ऐरिको सुदूरपश्चिम रोयल्सले इंग्ल्यान्डका सेफ अलि जेब, न्युजिल्यान्डका स्कट कुगेलेइन, स्कटल्यान्डका ब्रान्डन मक्मलेन र युएईका रोहन मुस्तफालाई भित्राई सकेको छ । ४८ जना विदेशी खेलाडीको कोटामा अब १० जना खेलाडी मात्रै भित्राउन बाँकी रहेका छन् ।

जसमध्ये सन्दिप लामिछानेको विराटनगर किंग्स, आशिफ शेखको जनकपुर बोल्ट्स, कुशल मल्लको चितवन राइनोज, करण केसीको काठमाडौं गुर्खाज, कुशल भुर्तेलको पोखरा एभेन्जर्स, कप्तान रोहित पौडेलको लुम्बिनी लायन्सले १–१ विदेशी खेलाडी भित्राउने कोटा बाँकी छन् भने अलराउण्डर सोमपाल कामीको कर्णाली याक्स र दिपेन्द्र सिंह ऐरिको सुदूरपश्चिम रोयल्सले २–२ वटा खेलाडी भित्राउने कोटा अझैं नि बाँकी नै रहेको छ ।

खेल सुरु हुन अब ९ दिन मात्र बाँकी रहँदा धेरै जसो क्लबहरुले आफूलाई आवश्यक पर्ने मुख्य विदेशी खेलाडीहरु भित्राइ सकेका छन् । बाँकी रहेका खेलाडी पनि ९ दिनको अवधिभर भित्राइसक्ने आंकलन गर्न सकिन्छ । यसरी हेर्दा पहिलो पटक आयोजना हुन लागेको एनपीएलमा विदेशी खेलाडीको बाहुल्यता हुने पक्का भएको छ । अर्कोतर्फ विभिन्न अक्सन तथा प्रतियोगिताबाट लोकल तथा राष्ट्रिय स्तरका खेलाडी छनौटको प्रक्रिया पनि निरन्तर चलिरहेको छ ।

निकै ठुलो महत्वकांक्षाका साथ सुरु हुन गइरहेको एनपीएलाई लिएर क्यान तथा नेपाली खेल प्रेमीहरुले समग्र क्रिकेटको विकासका रुपमा हेरेका छन् । तर यो प्रतियोगिताले समग्र नेपाली क्रिकेट विकासमा तथा विश्व समुदायमा कस्तो प्रभाव राख्ला भन्ने हेर्नका लागि प्रतियोगिता नै पर्खिनुपर्ने हुन्छ ।

Skip This
Skip This
Logo