एशिया प्यासिफिकस्तरीय एफआईए ई–स्पोर्टस् क्लस्टर ट्रेनिङमा नेपालबाट धिताल र भण्डारी सहभागी

एशिया प्यासिफिकस्तरीय एफआईए ई–स्पोर्टस् क्लस्टर ट्रेनिङमा नेपालबाट धिताल र भण्डारी सहभागी

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । सिंगापुरमा सम्पन्न एशिया प्यासिफिकस्तरीय एफआईए ई–स्पोर्टस् क्लस्टर ट्रेनिमा नेपालबाट दुई अफिसियलहरूले भाग लिएका छन् ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का ई–स्पोर्ट्स कमिसनका सदस्य किरण धिताल र अंकित भण्डारीले नोभेम्बर २३ र २४ मा भएको यस ट्रेनिङमा नेपाललाई प्रतिनिधित्व गरेका हुन् ।

अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए), मोटरस्पोर्ट्स अष्ट्रेलिया र मोटरस्पोर्ट्स सिंगापुरको सहकार्यमा आयोजित यो कार्यक्रम एशिया प्यासिफिक क्षेत्रको पहिलो ई–स्पोर्ट्स प्रशिक्षण कार्यक्रम हो ।

दुई दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा नेपाल, बंगलादेश, थाइल्याण्ड, मलेसिया, फिलिपिन्स, श्रीलंका, सिंगापुर, ताइवान, न्युजिल्यान्ड र अष्ट्रेलियाका प्रतिनिधिहरू सहभागी थिए । यस कार्यक्रममा क्षेत्रीय ई–स्पोर्ट्स प्रतियोगिताको सुदृढीकरण, अनुभव आदानप्रदान र एशिया प्यासिफिक नेटवर्क विस्तारमा केन्द्रित प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रमका मुख्य प्रशिक्षकहरू अष्ट्रेलियाका डेविड मोरी र शुभ अग्रवाल थिए भने एफआईए ई– स्पोर्ट्स म्यानेजर एरिक स्ट्राने, एफआइए एशिया प्यासिफिक रिजनका उपाध्यक्ष लुंग नियन ली, एफआइए ई–स्पोर्ट्स कमिसन निरोशन परेरा र मोटरस्पोर्ट्स सिंगापुरका अध्यक्ष विन्सन ओउको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमले ई–स्पोर्ट्स प्रतियोगिताको आयोजना गर्ने तरिका, विभिन्न देशका चुनौतीहरू र क्षेत्रीय रूपमा मोटरस्पोर्ट्समा ई–स्पोर्ट्सको वृद्धि र प्रवर्द्धनका विषयमा गहन छलफल गरेको छ ।

नेपालको सहभागिताले मोटरस्पोर्ट्सको नयाँ विधा ई–स्पोर्ट्सको नेपालमा विकास हुनुका साथै मोटरस्पोर्ट्समा नेपालको अझ बलियो सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।

Logo