काठमाडौं । चर्चित भारतीय क्रिकेटर शिखर धवन पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौंमा आइपुगेका छन् । उनी कर्णाली याक्समा आबद्ध छन् ।
कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले भारतीय राष्ट्रिय टिमबाट टेस्ट, टी ट्वान्टीआई र ओडीआई गरी तीनै फर्म्याटको प्रतिनिधित्व गरिसकेका धवनलाई अनुबन्ध गरेको हो। धवन एनपीएल खेल्ने अहिलेसम्मका हाइप्रोफाइल क्रिकेटर हुन् ।
नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामी मार्की प्लेयर रहेको कर्णालीको मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका पर्व कप्तान ज्ञानेन्द्र मल्ल छन् । अब ज्ञानेन्द्रको प्रशिक्षणमा धवनले कस्तो प्रदर्शन गर्लान् त्यो हेर्न भने रोचक हुने पक्का छ । किनकी धवन विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् ।
उनले भारतका लागि ३४ टेष्ट, १६७ ओडिआई र ६८ टी२० आई म्याच खेलेका छन् । टेष्टमा ७ शतक मद्तमा २ हजार ३१५ रन बनाएका धवनले ओडिआईमा ६ हजार ७९३ रन बनाएका छन् जसमा १७ शतक समावेश छ । यस्तै टी२०आईमा उनले ११ अर्धशतक मद्तमा १ हजार ७५९ रन बनाएका छन् । त्यस्तै, भारतलाई एसीसी एसिया कपको उपाधि पनि जिताएका छन्। उनी जुनसुकै अवस्थामा विष्फोटक ब्याटिङ गर्ने क्षमता राख्छन् ।
धवनले विश्वकै चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनले सन् २०१६ मा सनराइजर्स हैदरवादबाट आईपीएल नै जितेका थिए । धवनले पछिल्लो सिजन पञ्जाव किंग्सबाट आईपीएल खेलेका थिए । आईपीएलमा धवनले २ शतक सहित ६ हजार ७६९ रन बनाएका छन् । उनी आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । उनीभन्दा अघि विराट कोहली छन् । उनी आईपीएलमा लगातार दुई शतक हान्ने पहिलो खेलाडी समेत हुन् । उनले सबैखाले टी२० गरी ३३४ खेल खेलेका छन् र त्यसमा ९ हजार ७९७ रन बनाएका छन् । जसमा उनले २ शतक समेत प्रहार गरेका छन् । एनपीएलमा भने उनको प्रदर्शन कस्तो रहला त्यो भने हेर्न बाँकी नै छ ।





























प्रतिक्रिया