काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत आज बिहान ९ बजे काठमाडौँ गुर्खाज र चितवन राइनोज बीच प्रतिस्पर्धा हुँदैछ। एनपीएल अन्तर्गतको दोस्रो खेलमा काठमाडौँ र चितवन एकअर्का विरुद्ध पहिलोपटक एक अर्का विरुद्ध भिड्न लागेका हुन्। संयोग के छ भने दुवै टोली बागमती प्रदेश भित्रकै हुन् । राजधानी काठमाडौं र उपत्यकाको प्रतिनिधित्व काठमाडु गुर्खाजले गर्नेछ भने चितवनले राइनोजले यस प्रदेशको तराई क्षेत्रको प्रतिनिधित्व गर्नेछ ।

एनपीएल अन्तर्गतको शनिबार भएको पहिलो खेलमा जनकपुरले विराटनगरलाई आठ विकेटले हराएको थियो। आज दिउँसो १ बजे तेस्रो खेल अन्तर्गत सोही जनकपुरले कर्णाली याक्सको सामना गर्नेछ। तर आजको रिपोर्टमा हामी दोस्रो खेल अर्थात् काठमाडौँ गुर्खाज र चितवन राइनोजको बारेमा बताउने छौं।
चितवन र काठमाडौँ दुवै एनपीएलका प्रमुख दावेदार मध्येका एक हुन् । दुवै टोलीले अक्सन मार्फत घरेलु खेलाडी किन्न होस् अथवा विदेशी खेलाडी किन्न कुनै कसर छाडेनन् । अन्य प्रदेशका टिमहरुले आक्रामक प्रचारप्रसार र तड्कभडक देखिए पनि चितवन राइनोजले बाहिर अन्यले जति एक्सपोज गरेको छैन । त्यसले गर्दा कतिपय समर्थकहरूले चितवन राइनोजलाई कमजोर टिम भनेर प्रचार गरेको पनि देख्न सकिन्छ ।

तर वास्तविकता त्यस्तो छैन। चितवन राइनोज टिमका मार्की प्लेयर कुशल मल्ल र मल्लको अन्तर्राष्ट्रिय रेकर्ड तोड़ने नामिबियाका निकोल लोफ्टी इटन सबैभन्दा खतरनाक खेलाडी हुन । यी दुवै वा कुनै एकको ब्याट चलेमा एनपीएलमा जस्तोसुकै टिमको पनि काम तमाम गर्न सक्ने खुबी राख्छन् । चितवन राइनोजले सबैभन्दा बढी आशा पनि कुशल र लफ्टी इटनसँग नै राखेको छ । कुशलले मंगोलियाविरुद्ध ३४ बलमा बनाएको एक सय रनको विश्व किर्तीमान इटनले नेपालविरुद्ध त्रिवि मैदानमा नै तोडेका थिए । अहिले यी दुवै खेलाडी चितवन राइनोजले नै पाएको छ ।
चितवन राइनोजको ओपनिङ्ग विपिन रावल, सन्तोष कार्की, अफगानिस्तानका हसन एइसाखिलमध्ये दुई जनाले गर्ने उच्च सम्भावना छ । यसैगरी टिमको मध्यक्रम सम्हाल्ने भरपर्दा ब्याट्सम्यान शरद भेषवाकर, अलराउण्डर रवि बोपरा पनि छन् । पाकिस्तानी खेलाडी सोहेल तानभीरले पनि मध्य क्रममा राम्रो ब्याटिङ्ग गर्न सक्छन् ।

चितवन राइनोजले खरिद गरेका तीव्र गतिका बलर कमलसिंह ऐरी घाइते भएका कारण एनपीएल प्रतियोगिता खेल्ने नखेल्नेमा अझै आशंका गरिएको छ। अर्कोतर्फ तीव्र गतिको बलिङ्गमा चितवनसँग रिजन ढकाल, सोहेल तानभीर, गौतम केसी, अमरसिंह राउटेला, दीपेश श्रेष्ठ छन् । राउटेला बलिङका साथै अलराउन्डर पनि हुन् ।
यसका साथै स्पिन आक्रमणमा चितवन राइनोजसँग धेरै अप्सनहरु छन् । मार्की प्लेयर कुशल मल्लसहित रञ्जित कुमार, शरद भेस्वाकर, निकोल लोफ्टी इटन सबैले उत्कृष्ट स्पीन बलिङ्ग गर्न सक्छन् । इङ्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन चितवन राइनोजमा अनुबन्ध भएका अर्का बिदेशी खेलाडी हुन् ।
२० वर्षीय मार्टिन अलराउण्डर हुन् र ब्याटिङ र बलिङ्ग दुबैमा उत्तिकै प्रभावशाली मानिन्छन् । एकपटकमा ४ जना मात्रै विदेशी खेलाडी खेलाउन पाउने भएकोले चितवनले अनुवन्ध गरेका ५ जना मध्ये १ जनालाई विश्राम दिएर बाँकी चार जना नै खेलाडीलाई खेलाउने निश्चित छ । चितवनको टिमसँग लेफ्ट र राइटको पनि राम्रो कम्बिनेशन छ । यसका साथै चितवनसँग ४ जना लेफ्टी ब्याट्सम्यान पनि छन् । चितवन राइनोजसँग अनरिडेबल युवा खेलाडीको संख्यासमेत रहेकोले अप्रत्याशित नतिजाको अपेक्षा टिमले राखेको छ ।

अब कुरा ‘काठमाडौँ गुर्खाज’को । काठमाडौँ उपत्यकाको प्रतिनिधित्व गरेको ‘काठमाडौँ गुर्खाज’ले पनि प्रतियोगिताको उपाधि नै जित्ने लक्ष्य राखेको छ । पहिलो खेलअघि नै काठमाडौँ गुर्खाजका मुख्य प्रशिक्षक बसन्त शाही ठकुरीले आफ्नो टोलीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताईसकेका छन् ।
काठमाडौँको मार्की खेलाडीमा राष्ट्रिय टोलीका सदस्य करण केसी रहेका छन्। करण सिनियर टोलीका सबैभन्दा मुख्य खेलाडीमध्येका एक हुन्। काठमाडौँ गोर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र शाहब आलम पनि छन्। यस्तै यु–१९ बाट खेलेका दिपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी सहभागी रहेको छ।

त्यसैगरी काठमाडौँले नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इङ्ग्ल्याण्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटरलाई भित्र्याएर टोलीलाई अझै बलियो बनाएको छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका नामिबियाका कप्तान जेरार्डले यसअघि नेपालमा आएर अन्तर्राष्ट्रिय खेल पनि खेलिसकेका छन्।
नेदरल्यान्ड्सका माइकलले पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन्। जेरार्ड र माइकल दुवै ‘एसोसिएट’ देशबाट उत्कृष्ट खेल खेल्ने खेलाडी हुन्। इङ्ग्ल्याण्डका नाथन सोटरले पनि घरेलु क्रिकेटमा उत्कृष्ट खेल प्रर्दशन गरेका छन्। उनले न्यू साउथ वेल्सको यु–२३ टोलीबाट पनि खेलेका छन्।
त्यसैगरी क्यारिवियन प्रिमियर लिग, इन्टरनेशनल क्रिकेट लिग र टी–ट्वान्टीलगायतको विश्वको विभिन्न खेल खेलेको अनुभव उनीसँग छ । टोलीको ‘आइकोनिक प्लेअर’मा क्रिस कार्की सहभागी छन्।

काठमाडौँका लागि करण केसीको धारिलो बलिङ र भीम सार्कीको धुवाधार ब्याटिङ चितवनका लागि मुख्य चुनौती हुनसक्छ । तर चितवन पनि आफ्नो प्रतिद्धन्द्धीलाई कम आँक्ने छैन । पहिलो दिनको एनपीएलपछि आइतबार दोस्रो दिन उपनिर्वाचनका कारण कुनै खेल नभएपछि सोमबारबाट एनपीएलका सम्पूर्ण खेल आफ्नो तालिकामा हुँदैछन् ।
काठमाडौं र चितवन दुबै टोलीले हरसम्भव पहिलो खेलमा जित हात पार्न कोसिस गर्नेमा कुनै दुई मत छैन तर काठमाडौंका मार्की करण केसी र चितवनका मार्की प्लेयर कुशल मल्ल दुबैले आफ्नो पहिलो खेलमा शतप्रतिशत जित निकाल्दै एनपीएलको सुखद यात्रा गर्न चाहन्छन् ।





























प्रतिक्रिया