धुर्मुश सन्तुली फाउन्डेशनले चितवनमा गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच आयोजना गरिएको सो कार्यक्रममा चितवनको भरतपुर महानगरपालिका स्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको शान्ती चोकमा रहेको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रहेको जमिनमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण हुन लागेको हो ।
नेपालको मौलिकता सहित निर्माण हुन लागेको रंगशाला स्तुपा आकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुनेछ । रंगशालामा क्रिकेट बाहेक फुटबल, भलिबल, बास्केटबल, डन्डी बियो, स्विमिंग लगायतको खेल खेल्न सकिने फाउण्डेसनले जनाएको छ ।
देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइ निर्माण हुने रंगशालाको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ । फाउन्डेसनले ६ महिना भित्र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी निमार्णको काम अगाडी बढाउने जनाएको छ ।
घोषणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रंगशाला निर्माणको काममा सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले सो रंगशाला निर्माणको काममा सहयोग गर्न पनि सबैलाई अपिल गरे ।
कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र निमार्णको अभियानमा सबैलाई सहयोग गर्न अपिल गरे । उनले अबको एक दशक भित्र मुलुक नयाँ युगमा प्रवेश गर्ने उल्लेख गर्दै निराश हुनुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारेका छन् ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले दुई बर्ष भित्र निमार्णको काम सम्पन्न गर्ने गरी काम अगाडी बढाईने जानकारी दिईन् । उनले रंगशाला निर्माणको काम सम्पन्न भईसके पछि पहिलो खेल भारत र पाकिस्तान बीच खेलाउने योजना रहेको पनि बताएकी छिन् ।
त्यस्तै फाउण्डेसनका अध्यक्ष तथा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोग गर्न आह्वान गरेका छन् । उनले सो रंगशाला शिलान्यास गरेको दिन हस्तान्तरणको मिति तोक्ने पनि बताएका छन् ।
त्यस्तै युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले पनि नेपालले खेलकुदमा गरेको प्रगतिलाई नियाल्दा नेपालमा अन्तराष्ट्रिय स्तरका खेल मैदान आवस्यक रहेको बताउँदै यो नमुना मात्र भएको र सरकारले प्रत्येक प्रदेशमा एक खेल मैदान बनाउने लक्ष्यका अनुसार काम सुरु गरेको पनि जानकारी दिएका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री शसांक कोईरालाले पनि रंगशाला बनाउनको लागि नेपाली कांग्रेस सदैव साथ रहेको जानकारी गराएका थिए । कार्यक्रममा सो रंगशाला निर्माणका लागि एक दर्जन बढि संस्था र व्यक्तिले सहयोग राशी पनि घोषणा पनि गरेका थिए । हेरौं भिडियोमा :































प्रतिक्रिया