अनिलको अर्धशतकमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, कर्णाली याक्स स्तब्ध

अनिलको अर्धशतकमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, कर्णाली याक्स स्तब्ध

केन्द्रबिन्दु
189
Shares

काठमाडौं । कप्तान अनिल शाहको अर्धशतकको मदतमा नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्समाथि ८ विकेटको सानदार जित निकालेको हो ।

जारी प्रतियोगितामा कर्णाली याक्सको यो पहिलो खेल हो भने जनकपुर वोल्ट्सको दोस्रो खेल हो । जनकपुर वोल्ट्सले शनिबार पहिलो खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो ।

आज कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५ दशमलव १ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको हो । जनकपुरका आगि कप्तान अनिल शाहले सानदार अर्धशतकीय इनिङको योगदान गरे । उनी ४२ बलमा ६ चौका र ३ छक्काको मदतमा ६२ रन जोडेर अविजित रहे । उनले ३५ बलमा ६ चौका र २ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका थिए ।

योसँगै उनी एनपीएलमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् । यसअघि भएका २ खेलमा नेपाली खेलाडीको ब्याटिङ चलेको देखिएको थिएन, आज त्यो पनि देखिएको छ ।

जनकपुरका आगि ओपनरद्वय आशिफ शेख र अनिल शाहले उत्कृष्ट सुरुवात दिलाएका थिए । उनीहरुले ८४ रनको महत्वपूर्ण साझेदारी गरे । उनीहरु राष्ट्रिय टोलीका ओपनर जोडी पनि हुन् । आज आशिफले ३६ रन प्रहार गरे । खेलको ९.४ ओभरमा मौसम ढकालले आशिफको विकेट लिएका हुन् । सो क्रममा उनले २९ बलमा २ चौका र २ छक्का गरे ।

यसैगरी पहिलो खेलमा अर्धशतक हानेका लाहिरु मिलन्थाले १३ बलमा २ चौका र २ छक्काको सहयोगमा २४ रन जोडे । लाहिरु जिशान मक्सुदको एलबिडब्लु धरापमा परे । जिम्मी निशम १६ रनमा नट आउट रहे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन जोडेको थियो । कर्णालीका लागि आशा गरिएका विदेशी स्टार खेलाडी सस्तैमा समेटिए । चर्चित भारतीय क्रिकेटर शिखर धवन, वेस्ट इण्डिजका चाडविक वाल्टन, ओमानका जीशन मक्सूद, हङकङका बाबर हायत सस्तैमा आउट भएका हुन् ।

एनपीएलकै हाइफ्रोफाइल खेलाडी एवं सबैभन्दा आशा गरिएका धवन नै १४ रनमा आउट भए । १४ बल खेले तर ३ चौका मात्रै प्रहार गर्न सके । हर्ष ठाकरले उनको विकेट लिएका हुन् । यसैगरी बाबर १२, वाल्टन ८ रन, मक्सूद शून्यमै आउट भए ।

तर, गुल्सन झा, अर्जुन घर्ती र कप्तान सोमपाल कामीले कर्णाली याक्सलाई राहत दिलाएका थिए । गुल्सनले २७ बलमा ३ छक्काको मदतमा ३६ रन जोडे । गुल्सन आउट हुँदा कर्णालीले १५ दशमलव २ ओभरमा ७९ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो ।

त्यसपछि आएका अर्जुनले १८औं ओभरमा विष्फोटिङ ब्याटिङ गरे । उनले हर्ष ठाकरको बलमा २ छक्का, २ चौका र २ रन प्रहार गरे । यो ब्याटिङले सानदार फिनिसिङ गर्यो । उनी ३३ रन बनाएर आउट भए । त्यसपछि अन्तिम ओभरमा कप्तान सोमपाल कामीले विष्फोटिङ ब्याटिङ गर्दै कर्णालीका लागि सम्मानजनक स्कोर खडा गराएका थिए । अन्तिम ओभरमा जिमी निशमलाई २० रन प्रहार गरे । उनी २९ रनमा अविजित रहे । तर, समयमै टोलीको ब्याटिङ नचल्दा हार व्यहोर्न पुग्यो ।

बलिङतर्फ जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए । यसैगरी किशोर महतो, ललित राजवंशी, हर्ष ठाकर र जिमी निशमले एकएक विकेट लिए । योसँगै कागजी रुपमा बलियो देखिएको जनकपुरले मैदानमा सावित गरेको छ । स्वेदशी र विदेशी खेलाडीको राम्रो कम्बिनेसन छ । अबको खेलमा यो लय कायमै राख्ला की नराख्ला त्यो त आगामी खेलले बताउने नै छ ।

Logo