छैटौं इन्ट्रा म्याड्रिस्टा फूटसलको उपाधि पुरुषतर्फ हेटौंडालाई र महिलातर्फ काठमाडौं ‘बी’लाई

छैटौं इन्ट्रा म्याड्रिस्टा फूटसलको उपाधि पुरुषतर्फ हेटौंडालाई र महिलातर्फ काठमाडौं ‘बी’लाई

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । रियल म्याड्रिड फ्यान क्लब नेपाल–काठमाडौंद्वारा आयोजित छैटौं इन्ट्रा म्याड्रिस्टा फूटसलको पुरुषतर्फको उपाधि रियल म्याड्रिड फ्यान क्लब नेपाल, हेटौंडाले जितेको छ ।

शनिबार काठमाडौंको बल्खुस्थित भिजननोभा फूटसलमा आयोजित उक्त प्रतियोगितामा रियल म्याड्रिड फ्यान क्लब हेटौंडाले रियल म्याड्रिड फ्यान क्लब पोखरालाई हराएको हो ।

कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथिका रूपमा नेपाली फुटबल इतिहासकै सबैभन्दा सफल खेलाडी विक्रम लामा, राष्ट्रिय फूटसल कप्तान मणि कुमार लामा, र शीर्ष कमेन्टेटर अभिनव जोशी उपस्थित भएका थिए। यसैगरी कार्यक्रममा विशेष अतिथिका रूपमा नेपाल आइडल सिजन–५ का उत्कृष्ट ५ प्रतिस्पर्धी मानव परियार र उत्कृष्ट ९ प्रतिस्पर्धी सुनिल विश्वकर्मा पनि उपस्थित थिए ।

यसैगरी महिलातर्फको ट्रफी काठमाडौँ ‘बी’ ले जितेको छ । काठमाडौँ ‘बी’ ले काठमाडौँ ‘ए’लाई हराएर उक्त उपाधि आफ्नाे पाेल्टामा पारेकाे हाे ।

प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडीको उपाधि पोखरा निवासी सुवास गुरुङले जित्दा सर्वाधिक गोलकर्ताको उपाधि पोखराकै सुवास गुरुङले जित्न सफल भए । यसैगरी व्यक्तिगत विधातर्फ पुरुष उदीयमान खेलाडीको उपाधि चितवनका रोजल दाहालले जित्न सफल भए भने सर्वश्रेष्ठ व्यवस्थापकको उपाधि हेटौंडा निवासी मनिष भट्टराईले जिते ।

पुरुषतर्फको सर्वश्रेष्ठ गोलरक्षकको उपाधि सुजल मोक्तानले हात पारे ।

यसैगरी महिला व्यक्तिगत विधातर्फको सर्वश्रेष्ठ खेलाडीको उपाधि र सर्वाधिक गोलकर्ताको उपाधि रेजिना दर्लामी मगरले जितिन् । प्रतियोगिताकी महिला उदीयमान खेलाडीको उपाधि प्रतिभा लिम्बूले जितिन् भने सर्वश्रेष्ठ गोलरक्षकको उपाधि प्रजिता बजगाईं र सर्वश्रेष्ठ व्यवस्थापकको उपाधि अंकित दवाडीले जित्न सफल भए ।

यो प्रतियोगिता नेपाली म्याड्रिस्टाहरूको ठूलो उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको थियो । यसले नेपाली फुटबल र म्याड्रिडिज्मो संस्कृतिलाई अघि बढाउँदै सबै म्याड्रिडिस्टाहरूलाई एकताबद्ध गर्ने महत्त्वपूर्ण भूमिका खेलेको आयोजक पक्षले जनाएको छ ।

Logo