काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन जयराम श्रेष्ठ ४–अन्डर ६४ सहित शीर्षस्थानमा रहन सफल भएका छन् ।
उनले विष्णुप्रसाद शर्मा र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन् ।
रोयल नेपाल गल्फ क्लबमा मंगलबारदेखि सुरू भएको प्रतियोगितामा विष्णुप्रसाद शर्मा र निरज तामाङले ३–अन्डर ६५ सहित पहिलो दिनको खेल संयुक्त रूपमा दोस्रो स्थानमा पूरा गरे । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य २–अन्डर ६६ सहित चौथो स्थानमा रहे ।
इभन–पार ६८ को स्कोरमा भेट्रान प्रो दीपक मगर र प्रदीप कुमारलामाले पाँचौं स्थान बाँडे । रमेश अधिकारी र दिनेश प्रजापतिले १–ओभर ६९ को स्कोर निकाले । उनीहरू सातौँ स्थान रहेका छन् ।
यसैगरी २–ओभर ७० को स्कोरमा ६ गल्फर रामे मगर, कृष्णमान राजबाहक, रवि खड्का, वसन्तराज गुरूङ तथा एमेच्योरद्वय ज्ञानबहादुर ढेङ्गा र राहुल विके पहिलो दिन संयुक्त रुपमा नवौं स्थानमा रहे।
रोयल नेपाल गल्फ क्लबका प्रो जयरामले बोगी रहित स्कोर कार्डनिकाल्ने क्रममा फ्रन्ट नाइन र ब्याक नाइन दुवै २–अन्डर ३२ मा सकाए । उनले चौथो, आठौं, दशौं र बार्ह्रौं होलमा बर्डी प्रहार गरे।
विष्णुले पहिलो र सातौं होलमा एक–एक सट बचाउँदै फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । यसपछि ११औँ होलको बोगी विरुद्ध १२औं र१३औं होलको दुई बर्डीले ब्याक नाइन १–अन्डर ३३ मा पूरा गरे।
डिफेन्डिङ च्याम्पियन निरजले दोस्रो होलमा बोगी प्रहार गरे पनि चौथो र पाँचौँ होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३३ खेले । यसपछि १०औं र ११औं होलमा लगातार दुई बर्डी प्रहार गरेका उनले ब्याक नाइनमा २–अन्डर ३२ को स्कोर दर्ज गरे।
एमेच्योर सदभावले सुरुवात राम्रो गर्न सकेनन् । पहिलो र चौथो होलमा बर्डी प्रहार गरे पनि तेस्रो, पाँचौं, छैटौं र नबौं होलमा एक–एक सट खेर फाले। फ्रन्ट नाइन २–ओभर ३६ मा पूरा गरे। तर ब्याक नाइनमा उत्कृष्ट कमब्याक गरे । १०औं, ११औं, १३औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे। योसँगै उनले ब्याक नाइनमा ४–अन्डर ३० को उत्कृष्ट प्रदर्शन गरे। यो स्कोरमा उनी एमेच्योरतर्फ शीर्ष स्थानमा छन् ।उनले ज्ञानबहादुर ढेङ्गा र राहुल विकेलाई ४ स्ट्रोकले पछि पारे।
७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गरी४५ खेलाडीको सहभागीता रहेको छ। कुल ७ लाख ३५ हजार नगदपुरस्कार राशीको लागि प्रतिस्पर्धा गर्नेछन्। विजेताले उपाधिसँगै १लाख ५० हजार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन् । साथै कट बनाउने२१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । ३६ होलको समाप्तीमा कट लागू हुनेछ।





























प्रतिक्रिया