सुदूरपश्चिम रोयल्स एनपीएलको प्ले अफमा, पोखरामाथि ५ रनको रोमाञ्चक जित

सुदूरपश्चिम रोयल्स एनपीएलको प्ले अफमा, पोखरामाथि ५ रनको रोमाञ्चक जित

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को प्ले अफमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा आज भएको महत्वपूर्ण खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्समाथि ५ रनको रोमाञ्चक जित दर्ता गरेको हो ।

यो जितसँगै सुदूरपश्चिम एक खेलअगावै प्ले अफमा पुगेको छ । अझ भनौं, पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । किनकी उसले अन्तिम खेलमा कर्णाली याक्ससँग खेल्न बाँकी नै छ । सुदूरपश्चिमले ६ खेलमा ५ मा जित हात पार्दै १० अंकसहित हाल शीर्ष स्थानमा उक्लिएको छ ।

समान १० अंक भएपनि जनकपुर बोल्ट्स नेटरनरेटमा पछि रहँदै दोस्रोमा झरेको छ ।

यता पोखरा भने यसअघि नै प्ले अफको होडबाट बाहिरिसकेको छ । यो खेलसँगै पोखराले प्रतियोगिताको समाप्त गरेको छ ।

सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा १९.४ ओभरमा अलआउट हुँदै १४८ रनमा समेटिएको हो । पोखराका लागि आन्द्रेस गौसले २१ बलमाा ४ चौका र एक छक्काको मदतमा सर्वाधिक ३६ रनको योगदान गरे । यसैगरी रेमन रेफरले ३३ रन र किरण ठगुन्नाले ३२ रन जोडेपनि फिनिसिङ गर्न नसक्दा पोखरा जितबाट चुक्यो ।

अन्तिम ओभरमा पोखरालाई जितका लागि ७ रन आवश्यक रहेको थियो । सुदूरपश्चिमका लागि स्कट कुगेलेनले १ रन मात्र खर्चिएर टोलीलाई रोमाञ्चक जित दिलाएका हुन् । उनी एक्लैले एक मेडन ओभरसहित ५ विकेट लिए । यसैगरी हर्मित सिंहले ३ तथा सेफ अलि जेबले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरको ७ विकेटको क्षतिमा १५३ रन बनाएको थियाे ।

सुदूरपश्चिमका लागि आरिफ शेखले ३८ बलमा २ चौका र एक छक्काको मदतमा सर्वाधिक ४२ रन जोडे । उनी अविजित रहे । ब्रान्डन म्याकमुल्लनले २३ रन, कप्तान दिपेन्द्रसिंह ऐरीले २० रन जोड्दा हरमित सिंह १३ रनमा आउट भए । यसैगरी बिनोद भण्डारीले १४ रन र इशान पाण्डेले १० रन जोड्दा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ पोखराका कप्तान कुशल भुर्तेलले २ विकेट लिँदा सागर ढकाल र माइकल लिस्कले समान एकएक विकेट लिए ।

Logo