कर्णालीमाथि नाटकीय जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा, उपाधिका लागि सुदूरपश्चिम भिड्ने

कर्णालीमाथि नाटकीय जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा, उपाधिका लागि सुदूरपश्चिम भिड्ने

केन्द्रबिन्दु
363
Shares

काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्समाथि २ विकेटको जित दर्ता गर्दै उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको हो ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले फाइनल खेलमा स्थान पक्का गरिसकेको छ । बुधबार भएको इलिमिनेटर खेलमा कर्णाली याक्स विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको थियो ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको एक सय १९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो । जनकपुरका जिमी निशमले सर्वाधिक ४५ रनको योगदान गरे । १७ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे । तर, विपिन शर्माले उनलाई आउट गर्दा खेल रोमाञ्चक बन्न पुगेको थियो ।

जनकपुरले सुरुवात नै राम्रो गर्न सकेन । जनकपुरले पावर प्लेमा १६ रन बनाउँदा नै ओपनरद्वयसहित ३ विकेट गुमाएको थियो । ओपनर शुभ कंसाकार ६ बलमा ३ रन जोडेर आउट हुँदा कप्तान आशिफ शेख ४ रन तथा लाहिरु मिलान्था २ रनमै समेटिए । तर, जब जिमी क्रिजमा आए, खेल जनकपुरकै पक्षमा फर्काउन सफल रहे ।

बलिङमा कर्णालीका बिपिन शर्माले सर्वाधिक ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनाएको थियो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा एक चौका र दुई छक्काको मद्दतमा २५ रन बनाएका हुन् ।

ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्काको सहयोगमा २४ रन जोडे भने विलियम बोसिस्टोले १५ बलमा एक चौकाको सहयोगमा १४ रन बनाए । जिशान मक्सुद ११ बलमा दुई चौकाको सहयोगमा १२ रन जोडे । त्यस्तै १७ बल खेलेका उनिस ठकुरीले दुई चौका प्रहार गर्दै १२ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कप्तान सोमपाल कामी पाँच रनमा आउट भए भने जयकिशन कोल्सावालाले एक रन बनाए ।

जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान दुई/दुई विकेट लिए । हर्ष ठाकर र शेर मल्लले समान एकरएक विकेट झारे ।

Skip This
Skip This
Logo