रोड रेसिङ च्याम्पियनसिप–२०२४ का विजेताहरू पुरस्कृत

रोड रेसिङ च्याम्पियनसिप–२०२४ का विजेताहरू पुरस्कृत

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ विजेताहरू पुरस्कृत भएका छन् । शनिबार एक विशेष समारोहका बीच विभिन्न सिरिजका विजेता खेलाडीहरूलाई नगद, शिल्ड, मेडल तथा प्रमाणपत्रबाट सम्मान गरिएको हो ।

च्याम्पियनसिपको फाइनल राउन्डमा नेसनलतर्फ श्रीहरी पौडेल विजेता बनेका थिए । यस्तै, फर्स्ट रनर अपमा दिलिप दनुवार र सेकेन्ड रनर अप युकेश थापा बनेका थिए भने नोभिसतर्फ संस्कार विष्ट विजेता बने । नोभिसतर्फ फर्स्ट रनर अप साकार श्रेष्ठ र सेकेन्ड रनर अप रुमु हाङ राई बने । नोभिसअन्तर्गत पहिलो पटक सहभागी राइडरहरू सम्मिलित थिए भने नेसनलमा पहिले नै सहभागी राइडरहरू सहभागी थिए ।

ललितपुरको सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिसरमा भएको च्याम्पियनसिपअन्तर्गत नेसनल र नोभिस गरी दुई क्याटागोरीका विजेता खेलाडीहरूलाई नासा नेपालका अध्यक्ष दशरथ रिसाल, उपाध्यक्ष अनिलकुमार बराल र सचिव सन्तोष न्यौपाने लगायतका पदाधिकारीहरूले पुरस्कृत गरेका थिए ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सँगको सहकार्यमा मोटर स्पोर्ट्स नेपाल क्लबले यो प्रतियोगिता आयोजना गरेको हो । सो च्याम्पियनसिपको सबै सिजनका लागि अफिसियल पर्फमेन्स पार्टनर शेल लुब्रिकेन्ट रहेको थियो । त्यसैगरी अफिसियल टु ह्विलर पार्टनर यामाहा नेपाल र सेफ्टी गियर पार्टनर कवच गियर रहेको थियो । त्यसैगरी एटायर पार्टनर युथ कलेक्सन रहेको थियो ।

भाल्वोलिन, रेप्सोल, क्यास्ट्रोल, पेट्रोनस, गल्फ, एभरेष्ट लगायतका लुब्रिकेन्टको सो च्याम्पियनसिपलाई सहयोग रहेको थियो । समारोहमा विभिन्न पदाधिकारी, खेलाडी र प्रायोजक कम्पनीका प्रतिनिधिहरूले नेपालमा मोटर स्पोर्ट्स विकासका लागि धेरै कार्य गर्न बाँकी रहेको र आगामी दिनमा समेत मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मोटर स्पोर्ट्स नेपाल क्लबका सचिव निमेश ज्ञवालीले आगामी वर्षको खेल तालिका समेत सार्वजनिक गरेका थिए । यसभन्दा पहिले सातदोबाटोमै राउन्ड १ तथा चितवनमा राउन्ड २ र पोखरामा राउन्ड ३ अन्तर्गतको प्रतियोगिता सम्पन्न भएको थियो ।

Logo