अंग्रेजी नयाँ वर्ष २०२५ सुरु भइसकेको छ । नयाँ वर्षको सुरुवातसँगै सबैले नयाँ उर्जा, नयाँ सोच र नयाँपनका साथ अघि बढ्ने संकल्प गर्छन् । यस्तोमा विश्व क्रिकेटको उर्वर विजका रुपमा छुट्टै स्थान खोजिरहेको नेपाली क्रिकेटले वर्ष २०२४ मा के कस्तो उपलब्धि हासिल गर्यो ? घरेलु तथा इन्टरनेसनल प्रतियोगितामा कस्तो प्रदर्शन गर्यो भनेर समग्र वर्षभरिको तथ्य र तथ्यांङहरु संकलन गरेका छौं ।
नेपाल क्रिकेट संघ(क्यान)ले अघिल्लो वर्ष पौष १९ गते वर्ष २०२४ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको थियो । जसमा घरेलुतर्फ २८ र अन्तर्राष्ट्रियतर्फ ३४ वटा उमेर समूह, महिला तथा पुरुष प्रतियोगिताका तालिकाहरु सार्वजनिक गरिएका थिए । जसमध्ये नेपाली राष्ट्रिय क्रिकेट टोलीले वर्ष २०२४ मा खेलेको सर्वाधिक सफल र बहुचर्चित प्रतियोगिता टी–२० विश्वकप थियो ।
अघिल्लो वर्ष अर्थात सन् २०२३ मा नेपालको घरेलु भूमि मुलपानी क्रिकेट मैदानमा यूएईलाई आठ विकेटले हराउँदै एक दशकपछि टि–२० विश्वकपमा छनौट भएको नेपालले अमेरिका र वेस्टइन्डिजद्धारा संयुक्त आयोजना गरेको प्रतियोगितामा साउथ अफ्रिका, नेदरल्याण्डस् र बंगलादेशको सामना गरेको थियो । जहाँ नेपालले साउथ अफ्रिकाविरुद्ध खेलेको खेल प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक खेल मध्ये एक बनेको थियो । उक्त नेपालले १ रनले हारेको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालले साउथ अफ्रिकालाई ११५ रन मात्रै जोड्न दिएको थियो । ११६ रनको विजयी लक्ष्यका साथ ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ११४ रन मात्रै बनाउन सक्यो । निकै नोकझोक र रोमाञ्चकपूर्ण खेलमा नेपालका लागि कुशल भुर्तेल एक्लैले ४ र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिएर सनसनी नै मच्चाएका थिए । यसैगरी ब्याटिङतर्फ पनि नेपालका लागि आसिफ शेखले ४२ र अनिल साहले २७ रन बनाएका थिए ।
इतिहासमै पहिलोपटक टेष्ट राष्ट्रलाई हराउँदै इतिहास कोर्न एक कदम मात्रै पछि रहेको नेपाली टोलीको उक्त प्रदर्शन टी–२० विश्वकपकै सर्वाधिक सनसनीपूर्ण खेल थियो । नेपाललाई १ रनले हराएको साउथ अफ्रिका फाइनलसम्म पुगेको थियो ।
साउथ अफ्रिकासँग खेल्नुअघि नेपालले टी–२० विश्वकपमा पहिलो खेलमै नेदरल्याण्डविरुद्ध ६ विकेटको हार ब्यहोरेको थियो भने श्रीलंकाविरुद्धको खेल भारी वर्षाका कारण स्थगित गरिएको थियो । यसका साथै चौथो तथा अन्तिम खेलमा नेपाल बंगलादेशविरुद्ध २१ रनले पराजित हुँदै प्रतियोगिताको अन्त्य गरेको थियो ।
क्यानडाको टोलीलाई नेपालमा स्वागत गर्दै वर्षको सुरुवात गरेको नेपालले क्यानडाविरुद्धको ३ वटै खेलमा जित हात पार्दै सिरिजमा क्लिनस्विप गरेको थियो । यो क्लिनस्विप पछि लिग–२ अन्तर्गत ४ वटा खेल खेलेको थियो । जसमा नेपालले ३ खेलमा हार व्यहोर्दा नेदरल्याण्स्विरुद्ध भने ९ विकेटको जित हात पारेको थियो ।
फेब्रअरी महिनामा मात्रै ३ ठुला प्रतियोगिता खेलेको नेपालले अन्तिम प्रतियोगिताको रुपमा नामिविया, नेदरल्याण्डस् र नेपाल सम्मेलित ट्रयाङगुलर टि२० सिरिज खेल्यो । जहाँ नेपालले खेलेका ५ खेलमध्ये ३ खेलमा हार र २ खेलमा जित निकालेको थियो । उक्त सिरिज नेदरल्याण्डले जितेको थियो ।
त्यसपछि मार्चमा नेपाल पपुवा न्यूगिनी र हंगकंग सम्मेलित हंगकंग टुरमा निस्कियो । जहाँ नेपालले दुई टोलीसँग ४ खेल खेल्दै दुई खेलमा हार, एक खेलमा जित र एक खेल वर्षाका कारण रोकिएको थियो । उक्त सिरिज पपुवा न्यूगिनीले जितेको थियो ।
हङकङ टुरलगतै आयरल्याण्डको ‘ए’ टोलीलाई नेपालमा पहिलो अनअफिसिएल टी–२०आई प्रतियोगिता खेल्न भित्राएको थियो । जहाँ नेपालले खेलेका २ वटै टी–२० खेलमा जित निकाल्दा ३ वटा एकदिवसीय खेलमा भने आयरल्याण्डको ‘ए’ टोलीले नेपाललाई सहजै पराजित गरेको थियो ।
अप्रिल महिनामा नेपालले १० राष्ट्र सम्मेलित एसिसी प्रिमियर कप खेल्न ओमान प्रस्थान गर्यो । उक्त प्रतियोगितामा नेपाल आफ्नो समूह‘ए’को शिर्ष स्थान ओट्दै सेमिफाइनलसम्म पुग्न सफल भयो । सेमिफाइनलमा नेपाल यूएईविरुद्ध ६ विकेटले पराजित हुँदै तेस्रो स्थानका लागि हङकङसँग पनि पराजित हुँदै शीर्ष ४ रहेर यात्रा टुङ्ग्याएको थियो । यसमा नेपालले एसिया कप गुमाएको थियो ।
एसिसी प्रिमियर कपको ट्रफी यूएईले ओमानलाई ५५ रनले हराउँदै जितेको थियो । तर, उक्त प्रतियोगितामा नेपालका दिपेन्द्र सिंह ऐरिले कतारविरुद्ध ६ छक्का प्रहार गर्दै टी–२० प्रतियोगिताको एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वकै पाँचौं खेलाडी बने । दीपेन्द्रले कतारका कमरान खानको २०औं ओभरका सबै बलमा छक्का प्रहार गरेका थिए। उक्त खेलमा उनले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको इनिङ खेलेका थिए। उनको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।
एसिसी प्रिमियर कपबाट फर्किएको १ सातापछि नै नेपालले वेष्ट इन्डिजको‘ए’टोलीलाई नेपालमा स्वागत गरेको थियो । जहाँ नेपाल र वेष्ट इन्डिजको‘ए’टोलीले ५ खेल खेलेका थिए । जसमध्ये ३ खेल वेष्ट इन्डिजको‘ए’टोलीले जित्दा नेपालले पहिलो र अन्तिमका २ खेलमा जित निकालेको थियो ।
वेष्ट इन्डिजको‘ए’टोलीसँगको खेलपछि नेपाली टोली टी–२० विश्वकप अघि अमेरिकाविरुद्ध एक वार्मअफ खेल खेल्दै अमेरिका र वेष्ट इन्डिजद्धारा संयुक्त आयोजित टी–२० विश्वकपमा सहभागी भयो । जुलाई र अगस्ट महिनामा नेपालले कुनै पनि आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेन । सेप्टेम्बरमा नेपालले फेरि क्यानडा र ओमानविरुद्ध ४ वटा लिग–२ का खेलहरु खेल्यो । जहाँ नेपालले एउटा खेलमा पनि जित निकाल्न नसक्दा टी–२० सिरिजमा भने २ खेलमा जित र ३ खेलमा हार ब्यहोरेको थियो । उक्त टी–२० सिरिज क्यानडाले जितेको थियो ।
क्यानडा टी–२० ट्राई सिरिजको ३ सातापछि अमेरिका टुरमा निस्किएको नेपालले स्कटल्याण्ड र अमेरिकाविरुद्ध ३ वटा टी–२० खेल खेलेको थियो । जहाँ नेपालले अमेरिकाविरुद्ध ३ वटै टी–२० मा जित हात पार्दा लिग–२ अन्तर्गत २ वटा खेलमध्ये स्कटल्याण्डविरुद्ध जित र अमेरिकाविरुद्ध हार ब्यहोरेको थियो ।
नोभेम्बरमा नेपालले हङकङ इन्टरनेसनल सिक्सेस र लिग–२ गरी दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । हंगकंग इन्टरनेसनल सिक्सेसमा नेपाल ए ले इङ्ल्याण्ड र अस्ट्रेलियाविरुद्ध जित हात पार्यो भने पहिलो क्वाटरफाइनलमा श्रीलंका र दोस्रो क्वाटरफाइनलमा यूएईसँग हार व्यहोर्न पुग्यो । वर्षको अन्तिम अन्तर्राष्ट्रिय खेलका रुपमा नेपालले स्कटल्याण्डविरुद्ध लिग–२ को खेल त खेल्यो तर उक्त खेल पनि नतिजा विहिन नै रहयो ।
अब लागौं घरेलु प्रतियोगितातर्फः नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि यो वर्षको सबैभन्दा ठुलो र प्रसिद्ध खेलका रुपमा नेपाल प्रिमियर लिग(एनपीएल) नै रह्यो । निकै महत्वकांक्षीका साथ सुरु भएको एनपीएलले नेपाली क्रिकेटमा तरंग नै ल्याएको छ । पहिलो संस्करणमै विश्वको ध्यान आफ्नोतर्फ खिच्न सफल एनपीएलमा शिखर धवन, मार्टिन गप्टिल, बेन कटिङ, सोहेल तनविर, जिमी निशम जस्ता चर्चित खेलाडीहरु सहभागी भए ।
टेलिभिजनतर्फ स्टार स्पोट्स र युट्युवका लागि एक्सन स्पोट्सले आधिकारिक प्रशारण अधिकार लिएको एनपीएलको चर्चा विश्वभर भएको थियो । एसोसिएट्स राष्ट्रको आइपीएलका रुपमा हेरिएको एनपीएलमा दर्शकको उपस्थिती र रौनक साँच्चै नै अविश्वसनिय देखिन्थ्यो ।
एनपीएल बाहेक गत वर्ष नेपाली घरेलु क्रिकेटरले इलिट कप, पिएम कप, इन्डो–नेपाल टी–२० क्रिकेट टुर्नामेन्ट र ललितपुर मेयर कपलगायत दजर्न भन्दा धेरै साना तथा ठुला प्रतियोगिताहरु खेलेको छन् । पछिल्लो समय नेपाली क्रिकेटले लिएको विकास र क्रिकेट प्रति क्यानले देखाएको चासो र समर्थकले देखाएको मायाकै कारण हुन सक्छ नेपाली क्रिकेट साँच्चै विश्व क्रिकेटको उर्वर विजका रुपमा उम्रिरहेको छ । तर, नेपाली क्रिकेटले अझै उचाई छुन भारत जस्तो क्रिकेटको महाशक्ति छिमेरी राष्ट्रसँग नेपालले भरपुर फाइदा उठाउनुपर्ने देखिन्छ । त्यसका लागि क्यानले भारत, पाकिस्तान र बंगलादेश जस्ता छिमेकी टेष्ट राष्ट्रका ‘ए’ टोलीविरुद्ध वानडे तथा टी–२० प्रतियोगिताका लागि प्रस्ताव गर्नुपर्ने देखिन्छ । जुन लिग २ मा खस्कँदा नेपालको प्रदर्शनमा बरदान सावित हुनसक्छ ।





























प्रतिक्रिया