पर्साको वीरगञ्जमा एलाइट कप क्रिकेट, चार टिमको सहभागिता रहने

पर्साको वीरगञ्जमा एलाइट कप क्रिकेट, चार टिमको सहभागिता रहने

केन्द्रबिन्दु
30
Shares

पर्सा । पर्साको वीरगञ्जमा हुने एलाइट (जय ट्रफी) कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पुस २१ गतेदेखि दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

वीरगञ्जको नारायणी क्रिकेट मैदान र जनकपुरको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदान गरी दुई स्थानमा यो प्रतियोगिता हुने पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि नारायणी क्रिकेट मैदानमा पिच निर्माण र मैदानको स्तरोन्नति गरिएको छ ।

क्यान र वीरगञ्ज महानगरपालिकाको समन्वयमा पिच निर्माणदेखि मैदानको स्तरोन्नति सम्भव भएको सिंहले बताए । तर दर्शक बस्ने व्यवस्था गर्न नसकिएको उनको गुनासो छ । मैदानबाहिर बसेर खेलाडीलाई प्रोत्साहन गर्न उनले आग्रह गरेका छन् ।

यस प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोलीलाई सहभागी गराउन लागिएको हो। ‘जय ट्रफी मेन्स एलाइट कप’ नामकरण दिइएको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेश गरी चार टिमको सहभागिता रहनेछ ।

माघ ३ गतेसम्म उक्त प्रतियोगिता चल्ने पर्सा क्रिकेट संघले जनाएको छ । क्यानका पूर्वअध्यक्ष स्वर्गीय जयकुमार नाथ शाहको नाममा यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

Logo