मनाङ कीर्तिमानी आठौँ पटक लिग च्याम्पियन : ए डिभिजन सम्पन्न

मनाङ कीर्तिमानी आठौँ पटक लिग च्याम्पियन : ए डिभिजन सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको कीर्तिमानी आठौँ पटक उपाधि उचालेको छ ।

यसअघि मनाङले २०४२–०४३, २०४३–०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा उपाधि उचालेको थियो । मनाङले लिगका १३ मध्ये १२ खेल जित्दै लिग उपाधि जितेको हो । मनाङले लिगको अन्तिम खेलमा भने मंगलबार फ्रेन्ड्ससँग पराजित भयो ।

दुई खेल अगावै च्याम्पियन बनेको मनाङले मंगलबार लिग समाप्तिसँगै उपाधि उचालेको हो । मनाङले उपाधिसँगै ५० लाख पनि प्राप्त गरेको छ । लिगको उपविजेता सङ्कटा क्लबले ३५ लाख तथा तेस्रो स्थानको थ्री स्टारले २५ लाख प्राप्त गरेको छ ।

लिगको चौथो बनेको त्रिभुवन आर्मी क्लबले १५ लाख, पाँचौ स्थानका एपिएफले सात लाख र छैटौं स्थानका नेपाल पुलिसले पाँच लाख प्राप्त गरेका छन् । त्यसैगरी फेयर प्ले टोली घोषित हुँदै ब्रिगेड ब्वाइजले एक लाख प्राप्त गरेको छ ।

लिगको उत्कृष्ट पाँच विधाको तीन विधामा मनाङले बाजी मारेको हो । अन्य दुई विधामा थ्री स्टार र आर्मी क्लबका खेलाडी उत्कृष्ट चुनिएका छन् । प्रतियोगितामा उत्कृष्ट फरवार्ड आर्मीका कप्तान भरत खवास, गोलकिपर मनाङका विशाल श्रेष्ठ, डिफेन्डर थ्री स्टारका रञ्जित धिमाल, मिडफिल्डर मनाङका हेमन गुरुङ र प्रशिक्षक मनाङका सुमन श्रेष्ठ चुनिए । उत्कृष्ट खेलाडी र प्रशिक्षकले एक÷एक थान पल्सर मोटरसाइकल र जनही ५० हजार प्राप्त गरेका छन् ।

विजेता टोलीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले पुरस्कार तथा ट्रफी प्रदान गर्नुभयो ।

मन्त्री विश्वकर्माले खेल क्षेत्रको विकास तथा विस्तारका लागि पूर्वाधार निर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै ७५३ वटै स्थानीय तहमा खेलकूदका पूर्वाधार विकास गर्न सरकारले दीर्घकालीन कार्ययोजना बनाइरहेको जानकारी दिनुभयो ।

लिग गत भदौ १३ गतेदेखि शुरु भएको थियो । राउण्ड रोविन लिगको आधारमा भएको प्रतियोगितामा कुल ९१ खेल भएका थिए । ‘ए’ डिभिजन लिग चार वर्षपछि भएको हो । पछिल्लो पटक विस २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।

तत्कालीन प्रधानमन्त्री पद्म शम्शेरले काठमाडौँ उपत्यकामा त्यसबेला चलेको फुटबल लहरलाई प्रतिस्पर्धामा उतार्न २००४ सालमा रामजानकी कप फुटबल प्रतियोगिता गराउनुभएको थियो । २००७ सालको प्रजातन्त्रपछि पुलिस फोर्सले लगातार तीन वर्ष उपाधि जित्दै कप पचायो । भएको एउटै व्यवस्थित कप पच भएपछि पुलिस फोर्सले यो वास्तविकतालाई बुझेर प्रतियोगितालाई निरन्तरता दिन शहीदको संस्मरणार्थ एउटा ट्रफी तत्कालीन नेपाल फुटबल सङ्घलाई दियो, जुन आजसम्म शहीद स्मारक नामले चलिरहेको छ ।
रासस

Skip This
Skip This
Logo