सन्दीपले अम्पायरमाथि गरेको प्रश्नको प्रक्रियाअनुसार सही गलत छुट्टिनेछ -पारस खड्का

सन्दीपले अम्पायरमाथि गरेको प्रश्नको प्रक्रियाअनुसार सही गलत छुट्टिनेछ -पारस खड्का

केन्द्रबिन्दु
471
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले स्टार खेलाडी सन्दीप लामिछानेले जय ट्रफी एलिट कपमा गरेको टिप्पणीबारे अनुसन्धान प्रक्रियाअनुसार अघि बढेको बताएका छन् ।

आज एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचिव खड्काले भने, ‘सन्दीपजीले अम्पायरमाथि असन्तुष्टि राख्नु भएको थियो र यसबारेमा पछि पनि उहाँसँग कुरा भएको छ । क्यानको आफ्नै प्रक्रिया छ, यसलाई सबैले फलो गर्नुपर्छ । उहाँले पनि गर्नुहुन्छ । यो एउटा प्रक्रिया अनुसार अघि बढेको छ र सबै पक्षको कुरा सुनेर के सही र गलत छुट्टिनेछ ।’

सन्दीप जय ट्रफी एलिट कपमा बागमती प्रदेशका टीम कप्तान थिए । प्रतियोगिताको चौथो खेल बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच गत पुस २४-२५ मा भएको थियो । दोस्रो दिनको खेल बराबरीमा सकिएपछि उनले अम्पायरसँग ‘प्रोटेस्ट’ गरेका थिए । अम्पायरले खेल समाप्तिको घोषणा गरेसँगै सन्दीप मैदान बाहिरबाट आएर अम्पायरसँग आक्रोश व्यक्त गरेको टेलिभिजन लाइभमा देखिएको थियो र पछि सामाजिक सञ्जालमै आक्रोश पोखे ।

उनले लेखेका थिए, ‘मैले यो भन्नु हुन्थेन तर नेपालमा अम्पायरिङको स्तरमा उल्लेखनीय सुधार आवश्यक छ । लामो समयदेखि यो फितलो छ र यदि आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयहरूका कारण असंख्य खेलाडीहरू पीडित बन्ने छन् । हामीले रेफ्रीलाई क्याप्टेनको रिपोर्ट दिएका हुन्छौं, तर पनि कुनै परिवर्तन आइरहेको छैन ।’

यसपछि एउटा राष्ट्रिय खेलाडीले यसरी सामाजिक सञ्जालबाट अम्पायरको आलोचना गर्न नमिल्ने भन्दै कोही विरोधमा त कोहीले उनले नेपाली क्रिकेटकै हितका लागि बोलेको भन्दै टिकाटिप्पणी भएका छन् ।

Logo