सन्दीप लामिछानेमाथि क्यानको कारवाही, एक खेलका लागि निलम्बन

सन्दीप लामिछानेमाथि क्यानको कारवाही, एक खेलका लागि निलम्बन

केन्द्रबिन्दु
132
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेमाथि अनुशासनको कारवाही गरेको छ ।

जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमाथि प्रश्न उठाएका सन्दीपलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको हो । सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् ।

सन्दीप जय ट्रफी एलिट कपमा बागमती प्रदेशका टीम कप्तान थिए । प्रतियोगिताको चौथो खेल बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच गत पुस २४-२५ मा भएको थियो । दोस्रो दिनको खेल बराबरीमा सकिएपछि उनले अम्पायरसँग ‘प्रोटेस्ट’ गरेका थिए । अम्पायरले खेल समाप्तिको घोषणा गरेसँगै सन्दीप मैदान बाहिरबाट आएर अम्पायरसँग आक्रोश व्यक्त गरेको टेलिभिजन लाइभमा देखिएको थियो र पछि सामाजिक सञ्जालमै आक्रोश पोखे ।

उनले लेखेका थिए, ‘मैले यो भन्नु हुन्थेन तर नेपालमा अम्पायरिङको स्तरमा उल्लेखनीय सुधार आवश्यक छ । लामो समयदेखि यो फितलो छ र यदि आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयहरूका कारण असंख्य खेलाडीहरू पीडित बन्ने छन् । हामीले रेफ्रीलाई क्याप्टेनको रिपोर्ट दिएका हुन्छौं, तर पनि कुनै परिवर्तन आइरहेको छैन ।’

यसपछि एउटा राष्ट्रिय खेलाडीले यसरी सामाजिक सञ्जालबाट अम्पायरको आलोचना गर्न नमिल्ने भन्दै कोही विरोधमा त कोहीले उनले नेपाली क्रिकेटकै हितका लागि बोलेको भन्दै टिकाटिप्पणी भएका छन् । यसैबीच क्यानले उनीमाथि अनुशासनको कारवाही गरेकाे हाे ।

Logo