नेपाललाई नेदरल्याण्ड्सले दियो १५८ रनको लक्ष्य, रोबिनकाे अर्धशतक

नेपाललाई नेदरल्याण्ड्सले दियो १५८ रनको लक्ष्य, रोबिनकाे अर्धशतक

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । त्रिकोणात्मक टि ट्वान्टी सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली नेपाललाई नेदरल्याण्ड्सले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले नेपाललाई निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५७ रन बनाएको हो । नेदरल्याण्ड्सका लागि रोबिन रिज्केले सर्वाधिक ५९ रनको अर्धशतकीय इनिङ खेलिन् । ४८ बल खेलेकी उनले ८ चौका प्रहार गर्दै अविजित रहिन् ।

ओपनर फेबे मोल्केनबोयर शून्य रनमा आउट भएपनि त्यसपछिको प्रदर्शनले भने नेदरल्याण्ड्सलाई ठूलो योगफल बनाउन मदत पुग्यो । अर्की ओपनर स्टेरे कलिसले २९ रन बनाउँदा हेदर सिजर्सले २३ रन जोडिन् । आइरिस ज्विलिङले १३ बलमै ५ चौकाको मदतमा अविजित ३१ रन जोडिन् ।

बलिङतर्फ कविता कुँवर, पुजा महतो, ईश्वरी बिष्ट, सीता राना मगरले समान एकएक विकेट लिइन् ।

घरेलु टोलीको इतिहासमा नै पहिलो पटक नेपाली महिला टोलीले नेदरल्याण्ड्सको सामना गरिरहेकाे हाे । महिला टि ट्वान्टी वरियतामा नेदरल्याण्ड्स १६औंँ स्थानमा रहँदा नेपाल भने २०औंँ स्थानमा छ । यस सिरिजमा नेपाल र नेदरल्याण्ड्ससँगै थाइल्याण्डको पनि सहभागिता रहेको छ । सहभागी टोलीले एकअर्कासँग समान तीन पटक खेल्नेछन् । त्यसमा अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोलीले उक्त सिरिजको उपाधि जित्नेछ ।

Logo