फाप्ला । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा डिसिए धनगढी विजयी भएको छ ।
पहिलो जित दर्ता गर्ने क्रममा धनगढीले घोडाघोडी–११ सुखडलाई ६९ ‘रन’ले पराजित गर्यो । जितका लागि पाएको १५० रनको लक्ष्य पछ्याएको सुखड १६ दशमलव पाँच ‘ओभर’मा ८० रनमा समेटियो । टेक रावतले १८ र दीपक टमटाले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
‘बलिङ’मा धनगढीका ललित राजवंशीले तीन, मिलन बोहरा र राहुल भण्डारीले दुई/दुई ‘विकेट’ लिए ।
यसअघि फाप्ला क्रिकेट मैदानमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको धनगढीले निर्धारित २० ओभरमा नौ ‘विकेट’को क्षतिमा १४९ रन बनायो । जसमा राजु रिजालले ३७, लोकेश बमले ३१ र अभिषेक पालले २८ रनको योगदान गरे । सुखडका लागि लकी स्मिथले तीन र नरेन साउदले दुई विकेट झारे ।
गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखसहित ‘ट्रफी’ पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु ५०–५० हजार पाउनेछन् । प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’लाई नगद रु १० हजार प्रदान गरिनेछ ।
यही माघ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको छ ।





























प्रतिक्रिया