भारतविरुद्धको टेस्ट क्रिकेटमा ७ वर्षीय बालक अष्ट्रेलियाको कप्तान

भारतविरुद्धको टेस्ट क्रिकेटमा ७ वर्षीय बालक अष्ट्रेलियाको कप्तान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा सात वर्षीय बालकले अष्ट्रेलियन क्रिकेट टिमको कप्तानी गरेका छन् । बुधबार भएको पहिलो दिनको खेलमा क्रिकेट अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेस्टमा सात वर्षीय बालकलाई कप्तानको जिम्मेवारी दिएको हो ।

अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट खेलका क्रममा बुधबार मेलबर्न क्रिकेट मैदानमा बालकलाई टस गर्नसँगै लगियो भने कप्तानको क्यापसमेत दिइयो।

सात वर्षीय बालक आर्ची चिलरले कप्तानको भूमिका निर्वाह गर्दा मैदानमा छुट्टै उत्साहा देखिएको थियो । खेलमा नियमित कप्तान टिम पाइनसँगै आर्चीले पनि संयुक्त रूपमा कप्तानको जिम्मेवारी निर्वाह गरेका हुन् ।

भारतीय टोलीको नेतृत्व भने विराट कोहलीले गरेका छन् । क्रिकेट अस्ट्रेलियाले आइतबार नै सात वर्षीय बालक आर्चीलाई कप्तान बनाउने निर्णय गरेको थियो । यसको चर्चा विश्वभरका सञ्चारमाध्यममा छाएको थियो ।

आर्ची सानै उमेरदेखि मुटु रोगबाट पीडित छन्। थुप्रै पटक उनको मुटुको गम्भीर शल्यक्रिया भइसकेको छ। आर्ची केवल तीन महिनाको हुँदा चिकित्सकले उनको मुटुको भल्बमा समस्या रहेको पत्ता लगाएका थिए।

त्यसपछि सात घण्टा लगाएर आर्चीको मुटुको शल्यक्रिया गरिएको थियो। त्यसको ६ महिनापछि आर्चीको मुटुको धडकनमा पुनः समस्या देखिएको थियो ।

पछिल्लो पटक सन् २०१७ को डिसेम्बरमा आर्चीको ओपन हार्ट सर्जरी गरिएको थियो। त्यतिबेला चिकित्सकहरूले आर्चीको आमा÷बुवालाई शल्यक्रियाको नतिजा दुःखद पनि आउन सक्ने संकेत दिएका थिए।

आर्ची क्रिकेट भनेपछि हुरुक्कै हुन्छन्। तर, मुटुको गम्भीर समस्याका कारण क्रिकेट खेल्ने उनको सपना भने पूरा हुन सक्दैन। उनी आफ्नै साथीहरूसँग पनि लामो समय खेल्न वा दौडन सक्दैनन्।

केही समयअघि आर्चीका पिताले उनको सपनाबारे सोधेका थिए। त्यतिबेला आर्चीले कप्तानका रूपमा अस्ट्रेलियन क्रिकेट टोलीको नेतृत्व गर्नु आफ्नो सपना भएको बताएका थिए।

उनको रोग र सपनाको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि त्यही सपना पूरा गर्न भारतविरुद्ध तेस्रो टेस्टमा आर्चीलाई अस्ट्रेलियन टोलीको कप्तान बनाइएको हो ।

Logo