‘खेलकुद स्वस्थ्यका लागि मात्र नभइ आर्थिक उपार्जनको माध्यम बन्दैछ’ -मन्त्री चौधरी

‘खेलकुद स्वस्थ्यका लागि मात्र नभइ आर्थिक उपार्जनको माध्यम बन्दैछ’ -मन्त्री चौधरी

केन्द्रबिन्दु
24
Shares

दमौली । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद शारीरिक स्वस्थ्यका लागि मात्र नभइ आर्थिक उपार्जनको माध्यम बन्दै गएको बताएका छन् ।

व्यास नगर ब्याडमिन्टन क्लबले व्यास नगरपालिका–३ बिपी वन वाटिकामा निर्माण गरेको कभर्डहलको आज उद्घाटन गर्दै उनले खेलकुदमा लागेर खेलाडी बाँच्न सक्ने अवस्थाको विकास हुँदै गएकामा खुसी व्यक्त गरेका हुन् ।

“खेलकुद शारीरिक, मानसिक विकासका लागि मात्र नभइ खेलाडीको जीवनयापन गर्ने बलियो माध्यमको रूपमा विकास हुँदै गएको छ”,मन्त्री चौधरीले भने,“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारा रहँदै आएको छ तर आज आर्थिक उपार्जनको आधार बन्दै गएको छ । यो खुसीको कुरा हो ।”

नेपालमा केही समय पहिला भएको एनपिएल क्रिकेटले खेलाडीको आर्थिक जीवनस्तर सुधारका लागि महत्वपूर्ण काम गरेको र अब खेलाडी दिगो रूपमा यही खेलमा लागेर बाँच्न सक्ने अवस्था बनिरहेको उनको भनाइ थियो ।

मन्त्री चौधरीले कतिपय नेपाली खेलाडीले विदेशमा खेलेर देशको नाम उचो राख्न र आफ्नो आर्थिक अवस्था सुधारका लागि राम्रो आम्दानी गरिरहेका बताए । “खेल क्षेत्रमा लागेकाहरूले अब निराश बन्नुपर्ने अवस्था छैन । सरकारले पनि सीमित आर्थिक स्रोतका कारण खेल क्षेत्रको विकासमा उल्लेख्य प्रगति गरिसकेको छैन । यसका बाबजुद सरकारले यस क्षेत्रमा उदाहरणीय काम गरिरहेको छ”, उनले भने ।

Logo