सेयर बजारमा उच्च गिरावट, कारोबार रकम भने बढ्यो

सेयर बजारमा उच्च गिरावट, कारोबार रकम भने बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट आएको छ। अघिल्लो कारोबारमा सामान्य सुधार देखिएको बजार यस दिन भने ३३.२८ अंकले घट्दै २७०१ अंकमा सीमित भएको हो।

कारोबारको सुरुआती चरणमा बजार सकारात्मक देखिएको थियो। एक समय नेप्से २७४४ अंकसम्म उक्लिएको भए पनि त्यसपछि बिक्री चाप बढ्दै जाँदा अन्तिमसम्म बजार निरन्तर ओरालो लाग्यो।

सूचक घटे पनि कारोबार रकम भने बढेको छ। आइतबार ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा सोमबार यो रकम बढेर ६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।

आजको कारोबारमा सूचीकृत ३५ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा २३५ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो।

समूहगत प्रदर्शनतर्फ बैंकिङ उपसमूह मात्रै हरियो रहँदै ०.१० प्रतिशतले उकालो लागेको छ। सबैभन्दा बढी गिरावट उत्पादन तथा प्रशोधन उपसमूहमा देखिएको छ, जहाँ २.३० प्रतिशतले सूचक घट्यो।

यस्तै, व्यापार उपसमूह २.२३ प्रतिशत र होटल तथा पर्यटन २.२२ प्रतिशतले ओरालो लागे। विकास बैंक १.८२ प्रतिशत, जलविद्युत् १.९० प्रतिशत, अन्य १.६९ प्रतिशत, माइक्रोफाइनान्स १.२७ प्रतिशत, जीवन बीमा १.२५ प्रतिशत, निर्जीवन बीमा १.२१ प्रतिशत, लगानी ०.७० प्रतिशत तथा फाइनान्स उपसमूह ०.७० प्रतिशतले घटेका छन्।

हालै दोस्रो बजारमा सूचीकृत भएको एभरेस्ट कलरको सेयर मूल्यमा सबैभन्दा धेरै १५ प्रतिशतको वृद्धि भएको छ। त्यसपछि गोर्खाज फाइनान्स ३.८६ प्रतिशत र धौलागिरि लघुवित्तको मूल्य ३.११ प्रतिशतले बढेको छ।

उता, आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १३.३८ प्रतिशतले घट्दै सबैभन्दा धेरै गुमाउने कम्पनी बन्यो। त्यसपछि कर्पोरेट डेभलपमेन्ट बैंक ९.६३ प्रतिशत, कालंगा हाइड्रोपावर ८.५२ प्रतिशत, सालपा विकास बैंक ८.१९ प्रतिशत तथा होटल फरेस्ट इन ७.५७ प्रतिशतले ओरालो लागेका छन्।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो। त्यसपछि ग्लोबल आईएमई बैंक, रिडी पावर, कुमारी बैंक र सेन्ट्रल फाइनान्स सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।

Logo