देवानगञ्ज घटनाबारे मानव अधिकार आयोगले थाल्यो अनुसन्धान,  सद्भाव कायम राख्न अपिल

देवानगञ्ज घटनाबारे मानव अधिकार आयोगले थाल्यो अनुसन्धान,  सद्भाव कायम राख्न अपिल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान अघि बढाएको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिअनुसार आयोगको कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुगमन सुरु गरेको छ।

अनुगमनका क्रममा टोलीले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीय बासिन्दासँग घटनाबारे जानकारी संकलन गरिरहेको आयोगले जनाएको छ।

आयोगका अनुसार सार्वजनिक स्थानमा रहेको पोलमा झण्डा राख्ने विषयलाई लिएर दुई समुदायबीच विवाद सुरु भएको थियो। त्यसपछि डिजे बजाउने विषयमा पनि असहमति चर्किँदै जाँदा अवस्था तनावपूर्ण बनेको र अन्ततः दुवै पक्षबीच तोडफोड तथा झडप भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

विवाद नियन्त्रणबाहिर गएपछि सुरक्षा अवस्था सामान्य बनाउन प्रहरीले गोली चलाएको आयोगको प्रारम्भिक अनुगमनबाट खुलेको छ। उक्त क्रममा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ।

घाइतेमध्ये चार जनाको न्युरो अस्पताल, चार जनाको विराट नर्सिङ होम र एक जनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको जानकारी आयोगले प्राप्त गरेको छ।

घटनापछि विभिन्न स्थानमा प्रदर्शनकारीले टायर बाल्दै विरोध जनाइरहेका छन्। चोक–चोकमा लाठी, रडलगायतका सामग्री बोकेर प्रदर्शन भएको तथा विशेष गरी कप्तानगञ्ज आसपासको क्षेत्र अझै तनावग्रस्त रहेको आयोगले उल्लेख गरेको छ।

Logo