मेक्सिकोका राष्ट्रपतिले बेचे आफू चढ्ने २३ अर्बको जहाज

मेक्सिकोका राष्ट्रपतिले बेचे आफू चढ्ने २३ अर्बको जहाज


एजेन्सी । मेक्सिकोका राष्ट्रपतिले आफू चढ्ने जहाज बेचेका छन् । आइतबारमात्र राष्ट्रपतिको पद सम्हालेका आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले राष्ट्रपतिले चढ्दै आएको हवाइजहाज बेचेका हुन् । अब उनी पनि व्यापारिक उडानमा यात्रा गर्ने छन् ।

‘म राष्ट्रपतिको जहाज चढ्ने छैन। त्यो जहाज चढ्नु मेरा लागि अप्ठेरो हुनेछ। यति धेरै गरिबी भएको देशमा यदि म त्यस्तो सुविधासम्पन्न जहाजमा उडें भने मेरो अनुहार लाजले भरिनेछ,’ गत सेप्टेम्बरमा ओब्राडोर भनेका थिए।

उनले आफ्नो वचन राख्दैं आइतबार राष्ट्रपतिको सपथ लिएपछि उनी मेक्सिको सिटी इन्टरनेसनल विमानस्थलमा देखिए। भेराक्रुज जान हिँडेका उनी अरू यात्रुजस्तै गरी जहाज चढे। झ्लालपट्टिको सिटमा बसे।

बेच्न लागिएको जहाज ।

त्यसको भोलिपल्ट ६ वर्षअघि राष्ट्रपतिका लागि किनिएको बोइङ ७८७.८ ड्रिमलाइनर जहाज अमेरिकाको क्यालिफोर्निया आयो। त्यहाँ जहाजको केही मर्मत सम्भार गर्नुपर्ने भए गरेर मूल्य निर्धारण गरी बेच्ने प्रक्रिया सुरू हुनेछ।

सन् २०१२ मा झन्डै २३ अर्ब रूपैयाँ खर्चेर राष्ट्रपतिका लागि उक्त जहाज किनिएको थियो। राष्ट्रपतिको जहाजसँगै संघीय सरकारका नाममा भएका ६० जहाज र ७० वटा हेलिकप्टर पनि बेच्न लागिएको मेक्सिकोका अधिकारीहरूले जनाएका छन् । भ्रष्टाचार विरूद्ध लड्ने नारा दिएका ओब्राडोरले गत जुलाईमा भएको राष्ट्रपतीय चुनावमा भारी मत पाएका थिए ।

उनले आफू राष्ट्रपतिको दरबारमा नबस्ने र तलबको पनि ४० प्रतिशतमात्र लिने घोषणा गरेका छन् । अत्यधिक गरिबी रहेको मेक्सिकोमा राष्ट्रपतिको यस्तो कदमले आम नागरिकमा खुशीयाली छाएको छ ।

Logo