‘स्टुअर्ट ल’को काँधमा नेपाली क्रिकेटको भविष्य

‘स्टुअर्ट ल’को काँधमा नेपाली क्रिकेटको भविष्य


काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलीले नयाँ प्रशिक्षकका रुपमा पूर्वअस्ट्रेलियन क्रिकेटर ‘स्टुअर्ट ल’लाई पाएको छ । ५६ वर्षीय स्टुअर्ट अनुभवी प्रशिक्षक हुन् । नेपाली टोलीको मुख्य प्रशिक्षक बन्न ७० जना बढीले इच्छा जाहेर गरेका थिए । तर, त्यसमा सर्टलिष्ट र अन्तर्वार्ता हुँदै स्टुअर्ट छानिएका हुन् ।

स्टुअर्टले सन् १९९४ देखि १९९९ सम्म अष्ट्रेलियाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले अष्ट्रेलियाका लागि एउटा टेष्ट र ५४ ओडिआई खेलेका थिए । यसका साथै उनले अष्ट्रेलियाका लागि थुप्रै घरेलु लिग पनि खेलेका छन् । खेलाडी छँदा ५४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका उनले ५१ इनिङ्समा १२३७ रन बनाएका थिए । यसका साथै फस्ट क्लास क्रिकेटमा स्टुअर्टले २७ हजारभन्दा बढी रन बनाएका छन् । उनी सन् १९९६ को विश्वकपमा अष्ट्रेलिया उपविजेता बन्दा उक्त टोलीको सदस्य पनि थिए । यससगैं स्टुअर्टसँग वेष्ट इन्डिज, श्रीलंका, अमेरिका, बंगलादेश र अफगानिस्तानको मुख्य प्रशिक्षक भएर काम गरेको अनुभव छ ।

बंगलादेशलाई पहिलोपटक एसिया कपको फाइनलमा पुर्याएको श्रेय पनि स्टुअर्टलाई नै जाने गरेको छ । पछिल्लोपटक अमेरिकी टोली सम्हाल्ने क्रममा स्टुअर्टले पाकिस्तानी टोलीलाई इतिहासमै पहिलोपटक सुपर ओभरमा ५ रनले हराएको थियो।

स्टुअर्टअघि नेपाली क्रिकेटको बागडोर नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल प्रशिक्षक मोन्टी देसाईको काँधमा रहेको थियो । नेपाली क्रिकेटको खस्कँदो साख जोगाएर विश्वकप, एसियाकप र एकदिवसीय मान्यता दिलाएर नेपाली क्रिकेटलाई सफलताको शिखरमा पुर्याउन प्रमुख भूमिका खेलेका मोन्टीको प्रशिक्षण भने पछिल्लो समय नेपाली क्रिकेटका लागि त्यति सफल भएन ।

पछिल्लो लिग–२ अन्तर्गत मोन्टीको प्रशिक्षकत्वमा नेपालले १२ खेलमध्ये २ खेलमा मात्रै जित निकाल्न सकेको थियो । ८ टोली सहभागी लिग–२ मा नेपाल १२ खेलबाट ६ अंक का साथ तालिकाको पुछारमा रहेको छ । सोही कारण क्यानले मोन्टीलाई नेपाली क्रिकेट टोलीको जिम्मेवारीबाट हटाइएको हो ।

यो लिगमा ८ टोलीमध्ये सातौं स्थानमा संघर्ष गरिरहेको नेपाललाई लयमा फर्काउन मिड टेबलमा लगेर एकदिवसीय मान्यता जोगाउने र शीर्ष तीनमा पर्दै एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायर्समा पुर्याउने चुनौती प्रशिक्षक स्टुअर्टसँग हुनेछ ।

यसका साथै स्टुअर्टसँग एसिया एण्ड इस्ट एसिया–पेसिफिक छनोटमार्फत नेपाललाई टी–२० विश्वकपमा छनौट गराउने पनि ठुलो चुनौती रहेको छ । सन् १९६८ मा अष्ट्रेलियाको क्वीन्सल्याण्डको ब्रिस्बेनमा जन्मिएका स्टुअर्टकै प्रशिक्षणमा अमेरिकाले सन् २०२४ को टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सुपर–८ यात्रा तय गरेको थियो। उक्त विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । सन् २०२४ को अक्टोबरमा भएको आइसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डसँग १० विकेटको हार व्यहाेरेपछि अमेरिकी क्रिकेट बोर्डले स्टुअर्टलाई मुख्य प्रशिक्षकको पदबाट हटाएको थियो। त्यसपछि उनी नेपाली टोलीको प्रशिक्षक बन्न आइपुगेका हुन्।

खस्कँदो प्रदर्शनलाई उकास्ने लक्ष्यका साथ नेपाली टोलीमा अनुबन्धित स्टुअर्टको अन्तर्राष्ट्रिय अनुभव र प्रशिक्षण शैलीले नेपाली टोली थप बलियो हुने विश्वास गरिएको छ । स्टुअर्टले टेस्ट राष्ट्रहरूलाई प्रशिक्षण गराएको अनुभवले नेपाली खेलाडीलाई नयाँ रणनीति बुन्न र आत्मविश्वास बढाउन पनि उत्तिकै मद्दत गर्ने देखिन्छ । यसैगरी अन्तर्राष्ट्रिय क्रिकेटमा सफलताका लागि मानसिक दृढता आवश्यक पर्ने भएकाले स्टुअर्टले नेपाली खेलाडीलाई दबाबमा पनि शान्त र केन्द्रित रहन खेल्न सिकाउन सक्छन्। यसका साथै खेलाडीहरूको ब्याटिङ, बलिङ र फिल्डिङमा पनि प्राविधिक कौशल बढ्ने पनि उत्तिकै सम्भावना छ।

तसर्थ स्टुअर्टको नियुक्ति नेपाली क्रिकेटका लागि एउटा सुनौलो अवसर पनि हो । उनको अनुभवले नेपाली टोलीको प्राविधिक कौशल, रणनीतिक समझ र मानसिक रुपमा पनि बलियो सुधार ल्याउन सक्छ । नेपालले यो अवसरको फाइदा उठाउँदै अन्तर्राष्ट्रिय स्तरमा अझै नयाँ उचाइमा पुग्न सक्छ ।

Logo