काठमाडौं । घरेलु टोली नेपाल यु १९ सिरिजमा अफगानिस्तानविरुद्धको दोस्रो खेलमा पनि पराजित भएको छ । मुलपानी मैदानमा आज भएको खेलमा जितनजिक पुगिसकेको नेपाल अन्तिममा सम्हालिन नसक्दा अफगानिस्तानसँग एक रनले स्तब्ध भएको हो ।
अफगानिस्तानले दिएको १६८ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा नेपाल ४९.३ ओभरमा अलआउट हुँदै १६७ रनमा समेटिएको हो ।अन्तिम ओभरमा नेपाललाई ११ रन चाहिएको थियो, क्रिजमा थिए ध्रुव सोनार र विपिन शर्मा । पहिलो बलमा ध्रुवले चौका हाने, दोस्रो डट बस्दा तेस्रोमा फेरि चौका प्रहार गरेर नेपाललाई जितनजिक पुर्याए ।
तर, नेपालको हातमा एकमात्र विकेट बाँकी थियो । चौथो बलमा महबुब खानले नो बल फ्याके, तर रन लिने क्रममा २१ रन बनाइसकेका ध्रुव रनआउट भएका हुन् । विपिन ७ बलमा खाता नखोली बसेका थिए ।
त्यसअघि नेपालका ओपनर साहिल पटेलले ६४ रनको योगदान गरेका थिए ।
टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान यू–१९ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो ।
अफगानिस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए । उनले ११४ बल खेल्ने क्रममा एक चौका प्रहार गरे । साथै ओपनरद्वय उजैरुल्लाह नियाजाईले १९ र खालिद अहमदजाईले १० रन बनाए । उसका लागि रोहुल्ला अरबले २७ रन बनाउँदा फैजल खान सिनोजादा र बर्खत इब्राहिमजाई शून्य रनमा आउट भए ।
नाजिफुल्लाह अमिरीले १६, जाइतुल्लाह शाहिनले २, खातिर स्तानिकजाईल ११ रन, वाहिदुल्लाह जार्दानले ८ र हफिजुल्लाह जार्दानले ५ रनको योगदान दिए ।
नेपालका लागि सन्तोष यादवले तीन, चिवरिन श्रेष्ठ र विपिन शर्माले दुई–दुई विकेट लिएका थिए । साथै अभिषेक तिवारी र अपराजित पौडेलले एक–एक विकेट लिए ।
योसँगै अफगानिस्तानले अभ्यास सिरिजको उपाधि जितेको छ । यसअघि बिहीवार भएको पहिलो अभ्यास खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो । दुई टोलीबीचको तेस्रो अभ्यास खेल आगामी बुधबार हुने तालिका छ । आगामी साता नेपालमा आयोजना हुने एसिया छनोटमा नेपाल र अफगानिस्तानसँगै हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्दैछन् । त्यसैको तयारी स्वरुप यो सिरिज भएको हो ।































प्रतिक्रिया