काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजमा नेपालले सानदार विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले कतारमाथि ८ विकेटको रवाफिलो जित दर्ता गरेको हो ।
कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको हो । खेल सुरु हुँदै विना बलमा ८ रन उपहार पाएको नेपालले पहिलो पावर प्लेमै ८१ रन जोड्दै निकै नै उत्कृष्ट सुरुवात गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले १९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाए । साथै अर्का ओपनर आशिफ शेखले ३३ रन जोडे भने कप्तान रोहितकुमार पौडेल ३७ रन तथा बसिर अहमद ३० रनमा अविजित रहे ।
त्यसअघि हङकङको मिसन ग्राउन्ड रोड मङ कोकमा आज भएको सिरिजको उद्घाटन खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५१ रन जोडेको थियाे । कतारका लागि कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेले । साहजैवले ३१ रन जोडे।
मुजीब-उर-रहमान २० रनमा अविजित रहे ।
बलिङतर्फ नेपालका सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलसन झा र ललित राजवंशीले समान एकएक विकेट लिए ।
नेपाल टोली करिब ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको हो । नेपाल प्रिमियर लिग, प्रधानमन्त्री कप, एलिट कप बहु दिवसीय क्रिकेटदेखि विभिन्न घरेलु लिग खेलेका नेपाली खेलाडीहरुले ५ महिनादेखि अन्तर्राष्ट्रिय खेल खेलेका थिएनन् । यो सिरिज नेपाली टोलीलाई कमब्याकको मौका बन्न सक्छ ।
चारदेशीय सिरिजमा नेपाल, हङकङसहित कतार र कुवेत छन् । सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।































प्रतिक्रिया