काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत कुवेतले नेपाललाई जितका लागि चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको कुवेतले निर्धातिर २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन जोडेको हो । कुवेतका ओपनर क्लिन्टो एन्टोले ३० बलमा ४ चौका र २ छक्काको मदतमा ४१ रन जोडे । यसैगरी अर्का ओपनर रविजा सन्दारुवान १५ बलमै २६ रन बनाएर आउट हुँदा मिट भावासरले ३५ रन जोडे ।
विलाल ताहिरले १३ बलमा ४ छक्काको मदतमा ३२ रन जोड्दा कप्तान मोहम्मद अस्लाम १७ रनमा समेटिए ।
बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट तथा कुशल भुर्तेल र ललित राजवंशीको नाममा एकएक विकेट रह्यो ।
यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।
यस्तै, सिरिजको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको छ । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् ।





























प्रतिक्रिया